घट्यो इन्धनको मूल्य,अब कति रुपैंया लिटरमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

आइतबार, १२ असार २०७९, ०७ : ३६
घट्यो इन्धनको मूल्य,अब कति रुपैंया लिटरमा हुँदैछ कारोबार ?

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको करमा केही कटौती गर्ने निर्णय गरेपछि नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मटीतेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको छ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको चौतर्फी आलोचना भएपछि सरकारले इन्धनमा लगाउँदै आएको कर घटाउने निर्णय गरेको हो। सरकारले पेट्रोलमा २० रुपैयाँ, डिजेल र मटीतेलमा २९ रुपैयाँ कर घटाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले जानकारी दिए। निगमले सोही बराबर इन्धन मूल्य घटाएको हो।  

निगमले डिजेलको मूल्य प्रतिलिटर १ सय ६३ र पेट्रोलको १ सय ७९ रुपैयाँ कायम गरेको छ। सरकारको निर्देशनअनुसार मूल्य घटाउने निर्णय गरेको आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए। सरकारले भन्सार, प्रज्ञापन शुल्क, भ्याट, पूर्वाधार कर, सडक मर्मत करसहित पेट्रोल लिटरमा ६५ रुपैयाँ ६१ पैसा र डिजेलमा ४९ रुपैयाँ ५३ पैसा कर उठाउँदै आएको छ।

घटेको मूल्य शनिबार रातिबाट कार्यान्वनयमा आएको छ। यसअघि पेट्रोलको मूल्य लिटरको १ सय ९९ र डिजेलको १ सय ९२ रुपैयाँ थियो। हवाई इन्धन, खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

विदेशी मुद्रा खर्च गरी महँगो मूल्यमा आयात गर्नुपर्ने पेट्रोलियम पदार्थको प्रयोग सकेसम्म कम गरी विद्युत्लगायतका स्वदेशी ऊर्जाको खपत बढाउनुपर्ने राष्ट्रिय आवश्यकतालाई मनन गर्न आयोगले उपभोक्तालाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस