सरकारले कुनै पनि वस्तुको मूल्यवृद्धि गर्न नहुने: माधव नेपाल

सफल खबर संवाददाता

शनिबार, ११ असार २०७९, १३ : ३५
सरकारले कुनै पनि वस्तुको मूल्यवृद्धि गर्न नहुने: माधव नेपाल

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हटाउने विषयमा सत्तारूढ दलहरुबीच सहमति भएको बताएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आज बिहान बसेको प्रधानमन्त्रीसहितको सत्तारूढ पाँच दलको बैठकले पेट्रोलियम पदार्थको वृद्धि गरिएको मूल्य घटाउने विषयमा सहमति गरेको बताएका हुन्।

शनिबार काठमाडौँमा बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले पाँच दलबीच भएको सो सहमतिलाई सरकारले छिट्टै पालना गर्ने विश्वास समेत व्यक्त गरे।

अध्यक्ष नेपालले जनतालाई कष्ट पार्नेगरी सरकारले कुनै पनि वस्तुको मूल्यवृद्धि गर्न नहुने पनि बताएउनले भने, ‘तेलको भाउ बढ्यो, मूल्यवृद्धि अचाक्ली भयो। त्यसैगरी भ्रष्टीकरण व्यापक रूपमा बढ्यो। हामीले यसमा पटक-पटक कुरा उठायौँ। यसै सन्दर्भमा प्रधानमन्त्रीले पाँच दलको बैठक बोलाउनु भएको थियो। जनतालाई मर्का नपर्नेगरी र राष्ट्रले पनि थेग्न सक्ने गरी अधिकतम हिसाबले तेलको मूल्य घटाउने बारेमा आज छलफल भएको छ। मलाई विश्वास छ आजको त्यो निर्णयलाई सरकारले तुरुन्त पालना गर्नेछ।’

बजार अनुगमन गरेर कालाबजारी गर्नेहरूलाई पनि कारबाही गर्न सरकारलाई सचेत गराइएकाे अध्यक्ष नेपालकाे भनाइ छ।‘कालोबजारी गर्नेलाई कारबाही गर्नुपर्छ। सुपथ मूल्य पसल खोलेर विपन्न वर्गका समूदायलाई राहत दिनुपर्छ भनेर राखिएको छ। भ्रष्टीकरणका विषयमा पनि कुरा गरिएको छ’, अध्यक्ष नेपालले भने।

प्रतिक्रिया दिनुहोस