सत्ता गठबन्धनबारे पुनर्विचार गर्न समाजवादी निकट प्रेस संगठनको माग

सफल खबर संवाददाता

विहीबार, ०९ असार २०७९, १६ : ४७
सत्ता गठबन्धनबारे पुनर्विचार गर्न समाजवादी निकट प्रेस संगठनको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनले सत्ता गठबन्धनबारे पुनर्विचार गर्न माग गरेको छ।गठबन्धन निर्माणको सैद्धान्तिक र राजनीतिक उद्देश्यलाई कांग्रेसले निरन्तर अवज्ञा गरेको दाबी गर्दै प्रेस संगठनले पुनःविचार गर्न माग गरेको हो।

बिहीबार महासविच भुपराज खड्काले विज्ञप्ति जारी गर्दै शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार बनेदेखि नै आफ्नो संगठनलाई निरन्तर उपेक्षा गरेको आरोप लगाएका छन्।

खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी हाम्रो वैचारिक आवद्धता रहेको दललाई गठबन्धनका सन्दर्भमा पुनर्विचार गर्न वा हालसम्मका सरकारी नियुक्ति र अवसरको बाँडफाँडमा भएका विभेदपूर्ण क्रियाकलाप सच्याउनका निम्ति पहल गर्न अनुरोध गर्दछौँ।’सरकार सञ्चारमाध्यममा हुने नियुक्तिमा कांग्रेसनिकट कार्यकर्ता मात्रै नियुक्त गरेर ती निकायलाई कांग्रेसीकरण गरेको दाबी समाजवादीले गरेको छ।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि गोरखापत्र संस्थान, नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समितिसहितका संस्थामा रिक्त भएका विभिन्न पदमा नियुक्ति पनि भएका छन्,’ विज्ञप्तिमा भनिएको छ,

‘ती नियुक्तिका क्रममा समाजवादी प्रेस संगठन नेपाल वा यस संगठनसम्बद्ध मातृदल नेकपा (एकीकृत समाजवादी) सँग कुनै किसिमको परामर्श वा समन्वय हुने गरेको छैन। यसरी एकलौटी ढंगबाट अवसर वितरण र नियुक्तिहरु गरिएकोप्रति हाम्रो संगठन खेद व्यक्त गर्दछ।’

प्रतिक्रिया दिनुहोस