वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्न एनआरएनएसँग छलफल

सफल खबर संवाददाता

बुधबार, ०८ असार २०७९, १७ : ३५
वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्न एनआरएनएसँग छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने विषयमा छलफल भएको छ ।

संघको सचिवालयमा बुधबार भएको छलफल कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली, निर्देशकद्वय कृष्ण अधिकारी र रोहित रेग्मीको सहभागीता रहेको थियो । एनआरएनए सचिवालय हलमा आयोजना गरिएको छलफलमा भौतिक एवं जुम मार्फत एनआरएनएका पदाधिकारीहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रममा विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्नका लागि गृहकार्य शुरु भइसकेको जानकारी दिदै कोषका कार्यकारी निर्देशक ज्ञवालीले एनआरएनएसँगको सहकार्यमा कोषले छिट्टै कार्यबिधी बनाएर लागू गर्ने बताए । उनले वैदेशिक रोजगारमा जानेलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा योजनामा समेट्नका लागि श्रम स्वीकृति दिने वेलामा नै समेट्न सकिने बताए ।

कोषका निर्देशक कृष्ण अधिकारीले विदेशमा रहेका नेपालीलाई कोषमा समेट्नका लागि कोषले ’प्यासन’ को रूपमा लिएर अगाडि बढेकाले एनआरएनएले साथ दिएमा चाँडै लागू हुने बताए । 

वैदेशिक रोजगार तथा कल्याणकारी विभागका सभापति एवं संघका उपाध्यक्ष डिबि क्षेत्रीले बैदेशिक रोजगारमा जाने नेपालीहरुलाईृ अनिवार्यरुपमा सामाजिक सुरक्षा योजनामा समेट्नका लागि श्रम स्वीकृति दिदा र श्रम सम्झौता गर्दा अनिवार्य सामाजिक सुरक्षा कोषमा जोड्ने शर्त राख्नु पर्ने बताए । 

एनआरएनएले आफ्नो १० औं विश्व सम्मेलन तथा असार २ गते सेमिनार आयोजना गरेर वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि सरोकारवाला बीच छलफल चलाएको थियो ।

संघका अध्यक्ष बद्री केसीले सामाजिक सुरक्षा सम्बन्धि संघको धारणा प्रस्तुत गर्दै यसको सफल कार्यान्वयनका लागि कार्यबिधि तयार पारेर गैरआवासीय नेपाली संघ र सामजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर गरेर अगाडि बढ्नु पर्ने बताए ।

एनआरएनए कार्यकारी अध्यक्ष कुल आचार्यले चाँडै संघ र कोषबीच सामाजिक सुरक्षामा समेट्नका लागि दुई पक्षिय समझदारी गरिने जानकारी दिए । समझादारी पत्र तयारका लागि संघका तर्फबाट उपाध्यक्ष डिबी क्षेत्री र कोषका तर्फबाट निर्देशक कृष्ण अधिकारीलाई जिममेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस