काठमाडाैँ। देश नं १ प्रदेशसभाको १० औँ तथा बजेट अधिवेशनअन्तर्गत आज बसेको बैठकमा आर्थिक विधेयकमाथिको छलफल समाप्त भएको छ । यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य पदमकुमारी गुरुङले बजेटप्रति समर्थन गर्दै सङ्खुवासभाको धेरै स्थानमा पर्यटकीयस्थलमा पूर्वाधार निर्माणतर्फ ध्यानाकर्षण गराए ।
अर्का सदस्य विमल कार्कीले व्यापार प्रदर्शनी, मेला र सांस्कृतिक कार्यक्रमलाई करमा समेट्नुपर्ने सुझाव दिए । सदस्य मोहनकुमार खड्काले प्रदेश सरकारले कृषि आयमा कर लगाउने सम्बन्धमा प्रस्ट पार्नुपर्ने धारणा राख्दै ठेक्कापट्टामा काटिने निर्माण कोष प्रदेशमा रहनुपर्ने ध्यानाकर्षण गराए ।
यसअघि शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य अम्बिका थापाले पेट्रोलियम पदार्थको मूल्य अविलम्ब घटाउन सरकारको ध्यानाकर्षण गराए । सदस्य ज्योति सुब्बाले सुनसरीको इनरुवा बहुमुखी क्याम्पस जीर्ण अवस्थामा रहेकाले बजेटको व्यवस्था गर्न माग गर्दै सोही क्षेत्रका स्वास्थ्य स्वयम्सेविकालाई साइकल उपलब्ध गराउन आग्रह गरे । प्रदेशसभाको अर्को बैठक असार १२ गते दिनको १ बजे बस्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असार २०७९, १५ : ४४
लेखकबाट थप