एनआरएनएद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई १२ लाख ८७ हजार रुपैयाँ आर्थिक सहयोग

सफल खबर संवाददाता

बुधबार, ०८ असार २०७९, १४ : ३२
एनआरएनएद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई १२ लाख ८७ हजार रुपैयाँ आर्थिक सहयोग

काठमाडाैँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८० रुपैयाँ आर्थिक सहयोग गरेको छ।

संघको सचिवालयमा बुधबार आयोजित एक कार्यक्रमका बीच गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले स्वागत मनतव्य राख्दै विश्वभरका नेपालीहरुले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिरहेको जानकारी गराए।

पुनले संघले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गरे। विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा नै जाने भएकोले त्यसको ५ प्रतिशत मात्र नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने, देशको राजस्व वृद्धि हुने र रोजगारीको सिर्जना हुने उनले बताए।

उनले राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभइ पालिका, प्रदेशमा खोलिनु पर्ने जोड दिए। गैरआवासीय नेपाली संघले पनि आविस्कार केन्द्रको स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिहरूलाई प्लाटफर्म दिन सक्ने उनले बताए।

संघका कार्यकारी अध्यक्ष आचार्यले विभिन्न अभियन्ताबाट प्रतिवद्धता गरिएको रकममध्ये संघको खातामा जम्मा भएको रकम हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए। विदेशमा सिकेको ज्ञान, सीप र लागानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्रजस्ता ठाउँहरू उपयुक्त रहेको ठहर गर्दै संघले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको उनले बताए।

यस कार्यक्रमको सञ्चालन गैरआवासीय नेपाली संघ युरोपका क्षेत्रीय संयोजक चिन्तामणी सापकोटाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस