भिनिसियस रियल मड्रिडमै बस्ने

सफल खबर संवाददाता

बुधबार, ०८ असार २०७९, १४ : १४
भिनिसियस रियल मड्रिडमै बस्ने

काठमाडौं । युवा फरवार्ड भिनिसियस जुनियरले स्पेनिस महारथि क्लब रियल मड्रिडमै रहने भएका छन् ।  

विश्व बजारमा फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पीएसजी) जाने हल्ला चलिरहँदा भिनिसियसले भने क्लब आएदेखि सबै एकजुट रहेको र मड्रिडमा  रमाइलो भएको प्रतिक्रिया दिएका हुन् । 

‘विश्वको सबैभन्दा ठूलो क्लबसँग निरन्तरता दिनेछु । म क्लबमा आएदेखि हामी सबै एकजुट भएका छौं । यो वर्ष छुट्टै रमाइलो थियो । हामीले एकजुट भएर प्रदर्शन गर्दा नै ला लिगा र च्याम्पियन्स लिगको उपाधि जित्न सफल भयौं,’ यसै वर्ष क्लबलाई स्पेनिस ला लिगा र यूईएफए च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका भिनिसियसले भनेका छन् । 

२१ वर्षीय ब्राजिलियन खेलाडी सन् २०१८ मा मड्रिड अनुबन्ध भएका थिए । त्यसयता उनी टिममा नियमित खेलाडी र महत्वपूर्ण सदस्य भएका छन् । जुनियरले यस सिजन १७ गोल र १३ असिस्ट गरेका थिए ।

यस्तै, मड्रिडलाई कीर्तिमानी १४औं पटक च्याम्पियन्स लिगको उपाधि जिताउन जुनियरले महत्वपूर्ण भूमिका खेलेका थिए ।  मड्रिडसँग भिनिसियसको अझै दुई वर्षको सम्झौता बाँकी छ । यद्यपि उनलाई लिन पीएसजीले ठूलो रकम अफर गरेका समाचार बाहिरिएको थियो । 

प्रतिक्रिया दिनुहोस