मधेस प्रदेश लागूऔषधको ‘अखडा’

पत्रपत्रिकाबाट

बुधबार, ०८ असार २०७९, ०८ : २६
मधेस प्रदेश लागूऔषधको ‘अखडा’

file pic

काठमाडौं । भारतबाट भित्र्याइएको ३ हजार ९ सय ८६ एम्पुल लागूऔषध सुईसहित भारत राजनगर थाना घर भई हाल लहान–५ मा बस्दै आएका २१ वर्षीय मोहम्मद अख्तर, भारत पिप्राहीका २७ वर्षीय धर्मेन्द्र ठाकुर र लहान–७ का  १८ वर्षीय गौतम ठाकुरलाई लागूऔषधसहित पक्राउ परेका छन्।

तीनै जनालाई लहान ५ र ७ स्थितबाट प्रहरीले आइतबार पक्राउ गर्‍यो। भारतबाट भित्र्याइएको १२ सय एम्पुल लागूऔषधसहित कलैया उपमहानगरपालिका–१ भवानीपुर का ४२ वर्षीय निर्वान मियाँ र वडा नम्बर ६ मदर्शा टोलका ४० वर्षीय ओसी अहमद पक्राउ परे। उनीहरूको साथबाट फेनार्गन ४०० एम्पुल, डाइजिपाम ४०० एम्पुल र नुर्फिन ४०० एम्पुल बरामद गरिएको छ।

मधेस प्रदेशको सिरहा र बाराका प्रहरीले पछिल्लो समय लागूऔषधसहित पक्राउ गरेका यी व्यक्तिहरू उदाहरण मात्र हुन्। लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा महिनैपिच्छे थुप्रै पक्राउ पर्दै आएका छन्। तर, दिनानुदिन कारोबार बढिरहेको छ।

लागूऔषधका कारोबारीहरूले सञ्जाल नै स्थापना गरेर मधेस प्रदेश अन्तर्गतका सीमावर्ती जिल्लाबाट निश्फिक्री कारोबार चलाइरहेको पाइएको छ। प्रहरीले विभिन्न समयमा पक्राउ गरेका कारोबारीहरूको बयान तथा अनुसन्धानबाट यो तथ्य खुलेको हो।

भारतीय शहरका विभिन्न औषधि पसलबाट भित्र्याइने लागूऔषध यहाँबाट विभिन्न ठाउँमा पुग्ने गरेको छ। भारतसँगको खुला सिमाना, सबैतिर सुरक्षादृष्टि पुर्‍याउन नसक्ने सुरक्षा निकायको कमजोरी तथा सीमावर्ती भारतीय बजारहरूमा हुने खुलमखुला बेचबिखन लगायत कारणले मधेस प्रदेश २ लागूऔषध कारोबारीको अखडा बन्दै आएको छ।

सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा जिल्ला मार्फत पहाडी जिल्ला र राजधानी लगायत धेरै शहरमा लागूऔषध ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ। पछिल्लो समय लहान, गोलबजार, बर्दिवास, जनकपुर लगायत शहर हुँदै अन्यत्र ओसारपसार हुने लागूऔषध र कारोबारी संख्या धेरै भएको लागूऔषध नियन्त्रण अभियन्ताहरू बताउँछन्। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस