फिफा विश्वकप आउन अब १५ दिन बाँकी

बुधबार, १६ जेठ २०७५, १२ : ३६
फिफा विश्वकप आउन अब १५ दिन बाँकी

मस्को  । फिफा विश्कप सुरु हुन अब मात्र १५ दिन बाँकी छ । विश्वभरका सबै फुटबल लिग अहिले विश्राममा छन् । कुनै ठाउँमा सिजन सकिएको छ त कतै सिजनको मध्यभागमा लिगलाई रोकिएको छ । गतसाता रियल म्याड्रिडले च्याम्पियन्स लिगको फाइनलमा लिभरपुललाई पराजित गरेसँगै युरोपको सिजन पनि विधिवत रुपमा अन्त्य भएको थियो ।

सर्जियो रामोसले कप्तानका रुपमा लगातार च्याम्पियन्स लिग उपाधि जिताए । यो उपलब्धि हासिल गर्ने उनी दोस्रा कप्तान हुन् । यसअघि जर्मनीका फ्रान्ज बेकेन्बौरले बायर्न म्युनिखलाई लगातार तीनपटक च्याम्पियन्स लिग उपाधि जिताएका थिए । रामोसले राष्ट्रिय टोलीमा पनि सोहि अनुरुपको सफलता निरन्तर दिने आशा समर्थकहरुको छ । यसका लागि उनले टोलीको प्रशिक्षणमा सहभागिता जनाइसकेका छन् । पछिल्लो पटक सन् २०१२ मा युरो जितेको स्पेनले त्यसयता भने अन्तर्राष्ट्रिय प्रतियोगितामा बिर्सनलायक प्रदर्शन गर्दै आएको छ ।

विश्वकपमा कुल ३२ राष्ट्र सम्मिलित छन् । प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् । प्रतियोगितामा सहभागी ३२ मध्ये २० टोलीले यसअघिको संस्करणमा पनि सहभागिता जनाएका थिए । यसपटक विश्वकपमा दुई टोलीले पहिलोपटक सहभागिता जनाउँदै छन् ।

आइसल्याण्ड र पानामाको यो पहिलो विश्वकप यात्रा हो । ११ सहरका १२ रंगशाला प्रयोग हुने प्रतियोगिताको फाइनल खेल जुलाई १५ तारिखमा मस्कोको लुझिन्की रंगशालामा हुनेछ । १४ जुनबाट सुरु हुने प्रतियोगितामा कुल ६४ खेल खेलिनेछ । प्रतियोगिताको आधिकारिक बल एडिडासले उत्पादन गर्नेछ । यसपटक एडिडासले सन् १९७० को विश्वकपलाई आधार मानेर तेल्स्टार १८ नामक बल प्रयोग गर्नेछ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस