एसपीपीबारे जवाफ दिन किन पन्छिए प्रधानमन्त्री देउवा ?

पत्रपत्रिकाबाट

सोमबार, ०६ असार २०७९, ०७ : ५०
एसपीपीबारे जवाफ दिन किन पन्छिए प्रधानमन्त्री देउवा ?

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सांसदहरू प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार बैठकमा अनुपस्थित भएपछि आक्रोशित भए।

एसपीपीसँगको सम्झौता, अमेरिका भ्रमण, नेपालको परराष्ट्र नीतिलगायतका विषयमा छलफल गर्न आइतबारको बैठकमा प्रधानमन्त्रीलाई बोलाइएको थियो। एसपीपी र अमेरिका भ्रमणको विषयका बारेमा अन्तर्राष्ट्रिय समितिमा आएर बोल्न सहमत भएका प्रधानमन्त्री देउवा एकाएक अन्तिम समयमा आएर सत्ता गठबन्धनको बैठक डाक्न पुगे। 

अन्तर्राष्ट्रिय समितिमा ३ दिनअघि परराष्ट्रमन्त्री डा। नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मालगायतसँग एसपीपीकै विषयमा छलफल गरेको थियो। समितिकी सभापतिसमेत रहेकी पवित्रा निरौला खरेलले भनिन्, ‘प्रधानमन्त्री बैठकमा आउने कुरा थियो। अन्तिम समयमा सत्तागठबन्धनको बैठक बस्नुपरेकाले आउन नसकेको जानकारी बालुवाटारबाट आयो।’

खरेलले प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा अनुपस्थित हुनु भनेको लोकतन्त्र र संसदीय समिति प्रणालीको प्रतिकूल भएको विचार व्यक्त गरेपछि बैठकमा विवाद सुरु भएको थियो। सभापति खरेलले समितिको बैठकमा एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन ? भन्दै बैठकमा ‘एसपीपी पनि एमसीसी जस्तै व्याख्यात्मक घोषणासहित पारित त हुने होइन ? यो हाम्रो मात्र नभई जनताको पनि  आशंका हो।’

एमालेका सांसदहरूले प्रधानमन्त्रीले संसदीय समितिलाई अपमान गरेको भन्दै खेद प्रस्ताव पारित गर्नुपर्ने मागसमेत राखेका थिए। बैठकले खेद प्रस्ताव भने पारित गरेन। यद्यपि समितिकी सभापति खरेलले प्रधानमन्त्रीलाई फेरि पनि बैठकमा बोलाउँछौं, ‘नेपालमा अमेरिकी सेना आउने भन्दै पनि सबैको मन रोएको छ,’ यो विषयमा हामी स्पष्ट हुन चाहन्छौं प्रधानमन्त्रीलाई फेरि आमन्त्रण गरौं।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस