गत एकैदिन प्राकृतिक विपदका १८ घटना, ४ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०५ असार २०७९, १७ : २१
गत एकैदिन प्राकृतिक विपदका १८ घटना, ४ जनाको मृत्यु

काठमाडौँ  । बितेको एक दिनमा विपद्का १८ घटना हुँदा ४ जनाको मृत्यु भएको छ। ३ जनाको आगलागीमा ज्यान गएको हो भने एक जना जंगली हात्तीको आक्रमणमा मृत्यु भएको विपद जोखिम न्यूनीकरण प्राधिकरणले जनाएको छ।

हात्तीको आक्रमणबाट कैलालीको टिकापुर नगरपालिका-२ भुराखानीस्थित सामुदायिक वनमा ५० वर्षीया महिलाको मृत्यु भएको हो। त्यसैगरी रौतहटको गढीमाई नगरपालिका समनपुरकी ६५ वर्षीया महिला र गोरखाको शहीद लखन गाउँपालिका-७ तिवारी टोलकी एक वृद्धाको आगलागीमा मृत्यु भएको हो।

सल्यानको सिद्धकुमाख गाउँपालिका-३ डाँडाकटेरीस्थित सामुदायिक वनमा लागेको आगो निभाउँदा एक ५७ वर्षीय पुरुषको मृत्यु भएको प्राधिकरणले जनाएको छ। बाढी, पहिरो, आगलागीजस्ता प्राकृतिक विपदका घटनाबाट ८ लाख ३४ हजार रूपैयाँ बराबरको क्षति भएको प्राधिकरणको अनुमान छ।

हिजो शनिबार ३ जनाको मृत्यु भएको थियो। पहिरोले ताप्लेजुङका २ जना र वर्षाका कारण धादिङमा एकजनाको मृत्यु भएको हो। असार ३ गते शुक्रबार पनि बाघको आक्रमणमा चितवनकी एक महिलाले ज्यान गुमाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस