चौतर्फि आलोचना भएपछि एसपीपीमा पछि हट्यो सरकार...

पत्रपत्रिकाबाट

विहीबार, ०२ असार २०७९, ०७ : ५८
चौतर्फि आलोचना भएपछि एसपीपीमा पछि हट्यो सरकार...

काठमाडौं । अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सम्झौता गर्न सरकार पछि हटेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले एसपीपीमा तत्काल सम्झौता नगर्ने बताएका छन्। यस विषयमा सरकारको आलोचना भएपछि बुधबार गठबन्धन दलका शीर्ष नेता सम्मिलित बैठकमा प्रधानमन्त्री देउवाले ‘राष्ट्रलाई हित नगर्ने विषयमा आफू सजग रहेको’ स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्रीले मुलुकको हितविपरीत कुनै पनि सम्झौता नगर्ने बताएको एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले बताए। ‘नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्वको कुनै पनि कुरामा हस्ताक्षर गर्ने काम आफूबाट नहुने र अरू देशले चासो राखेर कसैले भने पनि आफूले नमान्ने प्रधानमन्त्रीको स्पष्ट धारणा रह्यो’, अध्यक्ष नेपालले भने। 

नेपालले पार्टीको स्थायी कमिटी बैठकमा पनि मुलुकको हितविपरीत कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने प्रधानमन्त्रीले स्पष्ट पारेको बताएका थिए। प्रधानमन्त्रीले नै त्यसबारे प्रष्ट पारेपछि अब बाहिर फैलाइएको कुरामा विश्वास गर्नुपर्ने कारण नभएको नेपालले बताए। ‘हाम्रो देशको हितमा छरछैन भनेर हामी सबैले चासो राख्नुपर्छ।

सोधीखोजी हुनुपर्छ’, नेपालले भने, ‘तर, बाहिर फैलाइएको प्रचारको आधारमा भावनामा बग्नु हुँदैन। सतर्क हुने, सजग हुने कुरा ठीक छ। तर, बाहिर फैलाइएका कुरा विश्वासयोग्य छैनन्। बरू हामी सिधै प्रधानमन्त्रीसँग कुराकानी गर्न सक्छौं।’ देउवा, नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच बुधबार बिहान छलफल भएको थियो। 

बैठकमा सहभागी एक नेताका अनुसार माओवादी अध्यक्ष दाहालले विवाद भइरहेकाले एसपीपीको विषय स्थगन गर्नुपर्ने प्रस्ताव गरेका थिए। दाहालको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘मंगलबार संसद्मा परराष्ट्रमन्त्रीजीले एसपीपीमा शंका गर्नुपर्ने पाटो नभएको भन्दै खण्डन गरिदिएकाले समस्या बल्झिएको छ। यसका विषयमा अध्ययन टोली बनाएर बुझ्न सकिन्छ। सेनाको विषय र उत्तरी भूभागको विषय जसरी उल्लेख गरिएको छ त्यो नै शंकास्पद भएकाले यसमा विस्तृत छलफल र अध्ययन गरेर मात्र अघि बढ्नुपर्छ।’

दाहालले बैठकमा यो अहिले सरकारको प्राथमिकताको विषय नभएको र प्रतिपक्षले गठबन्धन भत्काउने दाउमा अल्झनमा पार्न खोजेको बताएका थिए। जसपा अध्यक्ष यादवले पनि एसपीपीका विषयमा सोच्ने र छलफल गर्ने समय नभएको र चुनावमा केन्द्रित हुनुपर्ने बताएका थिए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस