त्रिवि उपकुलपति कार्यालयको ताला करिब ५ महिनापछि खुल्यो

सफल खबर संवाददाता

आइतबार, २९ जेठ २०७९, १७ : ४१
त्रिवि उपकुलपति कार्यालयको ताला करिब ५ महिनापछि खुल्यो

काठमाडौं । करिब ५ महिनादेखि तालाबन्दी भएको त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय आइतबार खुलेको छ ।विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच ६ बुँदे सहमति भएसँगै पाँच महिना अघि लगाइएको ताला खोलिएको हो ।

योसँगै महिनौँदेखि बन्द रहेको विश्वविद्यालयको प्रशासनिक कामहरु नियमित हुने भएको छ । त्रिविको वार्ता टोली र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच आंशिक शिक्षकलाई करार गर्न २०७४ मंसीर ८ गते मन्त्री परिषदद्धारा स्विकृत १४ सय २० शिक्षक दरबन्दी कार्यान्वयनका लागि आवश्यक बजेटका लागि १५ दिनभित्र सरकारसँग पहल गर्ने सहमति भएको छ ।

क्याम्पस तथा केन्द्रीय विभागले आंशिक शिक्षकहरुको नियुक्ति गर्दा केन्द्रीय कार्यालयको पूर्व स्विकृती लिएर मात्र परिपत्र गर्न अनुरोध गर्ने पनि सहमति भएको छ ।

यस्तै, संघर्ष समीतिको मागको सन्दर्भमा विश्वविद्यालयमा रहेको रिक्त दरबन्दीको अध्ययन गरि आंशिक प्राध्यापकको समस्या समाधान गर्न विश्वविद्यालयको नियमअनुसार गर्न अनुरोध गर्ने र अतिरिक्त कक्षा व्यवस्थापन कार्यविधि २०७७ को आवश्यक परिमार्जन गर्ने सहमति भएको छ ।

गत माघ ६ गते विभिन्न माग राख्दै नेपाली काँग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थीसंघ र २१ गते आंशिक प्रध्यापकहरुले उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका थिए ।