काठमाडौँ । काठमाडौँ महानगरपालिकाले केही दिनअघि सञ्चालनमा ल्याएको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र(कल सेन्टर) प्रभावकारी बनेको छ ।
महानगरले गुनासो सुन्न र तत्काल सम्बोधन गर्न गत मङ्गलबारदेखि कल सेन्टर पुनःसञ्चालनमा ल्याएको थियो । महानगर प्रमुख बालेन्द्र साहको संयोजकत्वमा यही जेठ १६ गते भएको पहिलो कार्यपालिका बैठकको निर्णयानुसार कल सेन्टर सञ्चालनमा ल्याइएको हो । हाल दैनिक ३०० गुनासो आउने गरेको बताइएको छ ।
महानगरको सूचना प्रविधि विभागका नमराज ढकालका अनुसार आएका गुनासामध्ये ९० प्रतिशत फोहर व्यवस्थापनसँग सम्बन्धित रहेका छन् ।
त्यसैगरी सडकका खाल्डाखुल्डी पुर्ने, सेवा प्रवाह जस्ता गुनासो नागरिकका रहेका छन् । गत मङ्गलबारदेखि गुनासो भए वा केही सोधपुछ गर्नुछ भने निःशुल्क टेलिफोन नं १६६००१०५५११ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको थियो ।
सूचना प्रविधि विभागका प्रमुख ढकाल भन्छन्, “सेन्टरको क्षमता एकैपटक १५ टेलिफोन रिसिभ गर्न सकिने खालको छ ।” कामपाको सेवा प्रवाह, वडा, विभाग, आयोजना तथा एकाइसँग सम्बन्धित सोधपुछ तथा गुनासा, कामपाको सेवासुविधा वितरणसँग सम्बन्धित काम तथा महानगरसँग भएका अपेक्षासम्बन्धी गुनासा तथा सोधखोजका लागि यो प्रणाली स्थापना गरिएको हो ।
कल सेन्टरमा कसैले टेलिफोन गरेपछि गुनासो वा सोधपुछकर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरूको फोन नं, फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा भर्छन् । त्यसमा गुनासो वा सोधपुछसँग सम्बन्धित अधिकारीको विवरण पनि भरिन्छ । यो विवरण भरिसकेपछि प्रणालीले स्वचालितरूपमा गुनासो सुनुवाइ गर्ने अधिकारी, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत वा विभागीय प्रमुखलाई उक्त गुनोसो प्रवाह गरिन्छ ।
यसरी आएका गुनासोको प्रकृति हेरी सम्बन्धित विभागको अगुवाइमा जतिसक्दो छिटो सम्बोधन गरिनेछ । हालका लागि कार्यालय समयमा मात्रै सञ्चालन भएको उक्त सेन्टरमा अन्य समयमा भएका गुनासो रेकर्ड हुने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ जेठ २०७९, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह