यू-१९ महिला टी-२० विश्वकप छनोट : भुटानमाथि नेपालको कठिन जित

सफल खबर संवाददाता

सोमबार, २३ जेठ २०७९, १५ : २२
यू-१९ महिला टी-२० विश्वकप छनोट : भुटानमाथि नेपालको कठिन जित

काठमाडौं । मध्यक्रमकी ब्याटर सानु राजवंशीले ३० रनको अविजित पारी खेलेपछि नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको छ ।

भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । खराब सुरुवात गरेको नेपालले पहिलो ओभरमै ओपनर स्नेहा महरालाई गुमाउन पुग्यो ।तेस्रो ओभरमा आउट भएकी अर्की ओपनर किरण कुमारी कुँवरले २ रनमात्र बनाइन् । तेस्रो नम्बरमा आएकी साना प्रविणले १२ रन जोडिन् ।चौथो नम्बरमा ब्याटिङमा आएकी सानुले नेपालका लागि सर्वाधिक रन जोड्ने क्रममा ३२ बल खेलेर ५ चौका प्रहार गर्दै ३० रन बनाइन । त्यसपछिका ब्याटरहरु आश्मा पुलामी मगरले ३, कप्तान कृतिका मरासिनीले २, शृष्टी जैसीले ८ र एलिसा कुमारी यादवले अविजित २ रन बनाइन् ।

नेपालले अतिरिक्त ८ रन पाएको थियो । बलिङमा भुटानकी साङ्गे वाङवोले ३ विकेट लिइन् । यसअघि मलेसियाको किनरारा ओभलमा टस जितेर ब्याटिङ गरेको भुटानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ६६ रनको योगफल खडा गरेको थियो ।

भुटानका लागि ओपनर तथा कप्तान नावाङ चोडेन र मध्यक्रमकी सांगे वाङमोले समान ११ रन बनाए । बलिङमा मनिषा कुमारी उपाध्याय, कप्तान कृतिका मरासिनी र अनु कडायतले समान २÷२ विकेट लिए ।

यसअघि पहिलो खेलमा कतारमाथि ७९ रनको जित रचेको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार युएईसँग १० विकेटको हार भोगेको थियो । युएईविरुद्ध नेपाल ८ रनमै अलआउट भएको थियो ।

प्रतिक्रिया दिनुहोस