९ घण्टा २९ मिनेटमा दाहालले पूरा गरे तेन्जिङ हिलारी एभरेष्ट म्याराथन

सफल खबर संवाददाता

आइतबार, २२ जेठ २०७९, ११ : ५५
९ घण्टा २९ मिनेटमा दाहालले पूरा गरे तेन्जिङ हिलारी एभरेष्ट म्याराथन

काठमाडौं । सिप्रदी ट्रेडिङका निर्देशक शम्भु प्रसाद दाहालले तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पूरा गरेका छन् । ६१ वर्षीय निर्देशक दाहालले विश्वको सबैभन्दा अग्लो ट्रेल दौड म्याराथन ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन’ ९ घण्टा २९ मिनेट १४ सेकेण्डमा पूरा गरेका हुन् ।

उक्त म्याराथन ५ हजार ३६४ मिटर उचाइमा रहेको एभरेष्ट बेस क्याम्पबाट सुरू भएको थियो । त्यहाँबाट घरेपानी, लोबुचे पास, ढुङ्ला पास, डिंबोचे, फिरेची पास, ताकबोचे हुँदै ३ हजार ४४० मिटर उचाइमा भएको नाम्चे बजारसम्मको दुरी छ । एभरेष्ट बेस क्याम्प देखि नाम्चे बजारसम्मको कुल दुरी भने ४२.१९ किलोमिटर रहेको छ । निर्देशक दाहालले यो दुरी ९ घण्टा २९ मिनेट १४ सेकेन्डमा पार गरेका हुन् ।

हरेक वर्ष मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइन्छ । सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीद्वारा पहिलो पटक सगरमाथाको सफल आरोहण गरिएको थियो । सन् २०२२ को सोही दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवसको ६९औं वार्षिकोत्सव अवसरमा निर्देशक दाहालले पनि तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पूरा गरेका हुन् ।

विगत तीन महिनामा निर्देशक दाहालले तेन्जिङ हिलारी एभरेष्ट म्याराथनसहित तीन वटा म्याराथन सफलतापूर्वक पूरा गरिसकेका छन् । तेन्जिङ हिलारी एभरेष्ट म्याराथन उनको तेश्रोे म्याराथन हो ।

यसभन्दा अघि निर्देशक दाहालले सन् २०२२ फेब्रुअरीमा भएको ४२.९ किलोमिटरको दुरीको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र ४९ किलोमिटरको दुरी रहेको तेश्रो जुम्ला रारा अल्ट्रा म्याराथनमा पूरा  गरेका थिए । ६९ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा तेन्जिङ हिलारी एभरेष्ट म्याराथनमा भाग लिन निर्देशक दाहालसँगै २४ विभिन्न राष्ट्रका १४७ जना सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस