ट्रक व्यवसायी आन्दोलित, २० जेठदेखि लुम्बिनीका ट्रक नचल्ने

सफल खबर संवाददाता

आइतबार, १५ जेठ २०७९, १३ : ५८
ट्रक व्यवसायी आन्दोलित, २० जेठदेखि लुम्बिनीका ट्रक नचल्ने

भैरहवा । सरकारले सात वर्षअघि समायोजन गरी तोकेको भाडादर अझै कार्यान्वयन नगरेको भन्दै ट्रक व्यवसायीहरू आन्दोलित भएका छन् । तत्काल उक्त भाडादार कार्यान्वयन नभए २० जेठदेखि लुम्बिनी क्षेत्रका ट्रक व्यवसायीले ट्रक ठप्प पार्ने चेतावनी दिएका छन् ।

लुम्बिनी ट्रक व्यवसायी संघका अध्यक्ष विष्णु खरेलले दुध र सब्जीको मूल्य बढ्दा तुरुन्तै बढ्ने, तेलको मूल्य पटकपटक बढ्दा हाम्रो चाही वर्षौसम्म नबढ्ने भएपछि व्यवसायनै धरापमा परेको बताए । ुहामीले सस्तोमा सेवा दिए पनि उपभोक्ताले यसको फाइदा नपाएर दलाललाई कमाउने बाटो भएको छ, अतिनै भएपछि विस्फोट हुन्छ सोही अनुरुप यातायात व्यवसायीले भाडा समायोजन कार्यान्वयनका लागि अवाज उठाएका हुन् । उनले भने । 

सरकारलेनै तोकेको भाडादर नपाउँदा पेशा नै संकटमा परेको भन्दै २० जेठबाट ट्रक घर र ग्यारेजमा थन्काएर ढुवानी रोक्ने निर्णय गरेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले बताए । 

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको अगुवाइ तथा लुम्बिनी प्रदेशका अन्य ट्रक समितिहरु समेतको सहकार्यमा समायोजित भाडादर कार्यान्वयनका लागि ट्रक व्यवसायीहरूले आन्दोलन तय गरेका हुन् । आन्दोलनकासँगै व्यवसायी संस्थाहरूले लोडिङ कार्डलाई व्यवस्थित र पारदर्शी बनाउने, विभिन्न ट्रक समितिहरुको प्रतिनिधित्वमा अनुगमन गर्ने र सरकारले तोकेको भाडा प्राप्तिका लागि ट्रान्सपोर्ट व्यवसायीहरुसँग पनि सहकार्य गर्ने निर्णय गरेको अध्यक्ष पाण्डेले बताए । 

 

प्रतिक्रिया दिनुहोस