भ्रष्टाचार मुद्दाका आरोपी वडाध्यक्ष

पत्रपत्रिकाबाट

विहीबार, १२ जेठ २०७९, ०७ : २८
भ्रष्टाचार मुद्दाका आरोपी वडाध्यक्ष

नुवाकोट । नुवाकोटमा वडाध्यक्षमा निर्वाचित एक व्यक्तिविरुद्ध विशेष अदालतमा आर्थिक अनियमिततासम्बन्धी मुद्दा चलिरहेको रहस्य खुलेको छ। उनीमाथि विशेष अदालतमा २०७६ भदौ २० गतेदेखि मुद्दा चलिरहेको विषयमा सोमबार विदुर नगरपालिका कार्यालयमा उजुरी दर्ता भएको छ।

गठबन्धन दल माओवादी केन्द्रबाट विदुर–९ को वडाध्यक्षमा निर्वाचन हरिराम भण्डारी मुद्दा चलिरहेकै अवस्थामा निर्वाचित भएको उजुरीमा उल्लेख छ। उनको शपथ ग्रहण रोक्न माग गर्दै सोही वडाका २० जना व्यक्तिहरूले नपा कार्यालयमा ५७५० नं। मा दर्ता गरेको उजुरीमा उल्लेख छ।

भण्डारीको विशेष अदालतमा मुद्दा नं। ०७६ सिआर ००६३ बाट विशेष अदालत काठमाडौंमा रकम हिनामिनाको मुद्दामा सरकारकै तर्फबाट अभियोग दायर भई गत वैशाख २० गते मुद्दा पेसीमा चढी कारबाहीसमेत चलिरहेको उजुरीमा जनाइएको छ।

सोही वडाका शनि चित्रकार, विनयप्रसाद लामिछाने, राजकुमार तामाङ, जयराम रिजाल, धनबहादुर बोगटी, सीता बोगटी, धनमाया सुनार, सुरेन्द्र श्रेष्ठसहित २० जनाले मुद्दाको विवरणसहित विदुर नपा कार्यालयमा उजुरी पेस गरेका हुन्।

मुद्दा चलिरहेकै बेलामा वडाध्यक्षमा निर्वाचित भण्डारीको शपथग्रहण रोक्न माग गर्दै वडावासीले उजुरी दिएका हुन्। वडावासीले शपथ ग्रहण रोक्न माग गर्दै उजुरी दिए पनि भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

यस सम्बन्धमा बिदुर नपाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीसँग जिज्ञासा राख्दा उनले कैलालीमा रेशम चौधरीले सांसदको शपथ लिन हुने, विदुरमा हरिराम भण्डारीले शपथ ग्रहण गर्न किन नहुने ? भनेर प्रतिप्रश्न गरे। अन्नपूर्ण पोष्ट दैनिकमा खबरछ । 

प्रतिक्रिया दिनुहोस