अरविन्द्र केजरीवाललाई भेट्ने विजय सुवेदीको सपना चकनाचुर

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, १६ : ०५
अरविन्द्र केजरीवाललाई भेट्ने विजय सुवेदीको सपना चकनाचुर

चितवन । भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार विजय सुवेदीले आफू निर्वाचित भए सबैभन्दा पहिले भारत भ्रमणमा जाने र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भेट्ने बताएका थिए । वैशाख २५ मा एमाले चितवनले भरतपुरमा आयोजना गरेको आमसभामा बोल्दै उनले निर्वाचित भएपछि सबैभन्दा पहिले भारत भ्रमणमा जाने बताएका थिए । दिल्लीको विकास बुझेर भरतपुरमा लागू गर्न आफू लाग्ने उनको भनाइ थियो । 

तर, भरतपुरमा पराजित भएसँगै उनको सपना चकनाचुर भएको छ । उनले भनेका थिए,  ‘म नगर प्रमुखमा निर्वाचित भएपछि सबैभन्दा पहिले भारत भ्रमणमा जान्छु । त्यहाँ गएर केजरीवाल भेट्न चाहन्छुु, नितिन गड्करीलाई पनि भेट्न चाहन्छु । उहाँहरुले गरेको राम्रो काम सिक्छु, र उहाँलाई पनि ल्याउँछु ।’

उनले आफू चीन र अरु देशको पनि भ्रमणमा जाने र सबै देशको स्रोत साधन ल्याएर भरतपुर महानगरपालिकाको विकासमा लगाउने बताएका थिए ।उनले भरतपुरमा एक वर्षमा ४ लाख विरुवा रोप्ने, प्लास्टिकमुक्त बनाउने, ढल प्रशोधन गरेर सफा पानी मात्र नदीमा मिसाउने योजना सुनाए ।

यस्तै चितवनलाई स्वर्गजस्तो बनाउने पनि उनको भनाइ थियो । तर, उनको सपना आज रेनु दाहालसँग पराजित भएसँगै चकनाचुर भएको छ।  साथसाथै उनको प्रदेश सभाको जागिर पनि चैट भएको छ । उनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर भरतपुरमा मेयरको उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस