नागरिकको स्वास्थ्य रेकर्ड व्यवस्थित गर्न सबै अस्पतालमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली राख्ने तयारी

सफल खबर संवाददाता

आइतबार, ०८ जेठ २०७९, ११ : ४९
नागरिकको स्वास्थ्य रेकर्ड व्यवस्थित गर्न सबै अस्पतालमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली राख्ने तयारी

काठमाडौं । सरकारले प्रत्येक नागरिकको स्वास्थ्य रेकर्ड व्यवस्थित गर्न सबै अस्पतालमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली (ईएचआर) लागू गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।

मन्त्रालयले आगामी आर्थिक वर्षदेखि उक्त प्रणाली लागू गर्ने तयारी अगाडि बढाएको हो। मन्त्रालयले यसका लागि बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव गरेको छ। स्वास्थ्य मन्त्रालयका एक कर्मचारीका अनुसार अगामी आर्थिक वर्षको बजेटमा उक्त कार्यक्रमका लागि बजेटको व्यवस्था भएमा देशभरका अस्पतालमा ईएचआर लागू हुने छ। स्वास्थ्य मन्त्रालयले सरकारको नीति तथा कार्यक्रममा समेत उक्त विषय प्रस्ताव गरेको छ।

'प्रत्येक नागरिकको स्वास्थ्य रेकर्ड व्यवस्थित गर्न सबै अस्पतालहरुमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गरिनेछ,' मन्त्रालयले नीति तथा कार्यक्रमका लागि गरिएको प्रस्तवमा उल्लेख छ।ईएचआर भनेको अस्पतालमा उपचारका लागि जाने बिरामीको विवरण सुरक्षित राख्ने प्रणाली हो। यसमा बिरामीले कागजपत्रहरु बोकेर विभिन्न स्थानमा भौतारिरहुन पर्दैन। स्वास्थ्य संस्थामा बिरामी प्रवेश गरेदेखि उपचार हुँदा र बाहिरिँदासम्मको विवरणका साथै प्रयोगशालाका विवरण समेत उक्त प्रणालीमा सुरक्षित रहन्छन्। 

बिरामीलाई उपलब्ध गराइने नम्बरबाट बिरामीका विवरणहरु जुन अस्पतालमा पुगे पनि सहजै हेर्न सकिनेछ। यसले बिरामीको रोगको इतिहास, खाइरहेको औषधि, विगतको स्वास्थ्य जाँचको अवस्था हेरेर थप उपचार प्रक्रिया अगाडि बढाउन सहज हुनेछ।

प्रतिक्रिया दिनुहोस