जनकपुर । क्षीरेश्वरनाथ नगरपालिकाको मत गणनामा विवाद हुँदा मतगणना स्थगित भएको छ।क्षीरेश्वरनाथ नगरपालिका ५ को क्षीरेश्वर जनता उच्च मा.वि. (ङ)मतदान केन्द्रको मतगणना पुनः गर्नुपर्ने माग गर्दै एमाले आन्दोलित भएको हो।
एमालेका कार्यकर्ताले आफ्ना उम्मेदवार १ मतले विजयी भए पनि निर्वाचन अधिकृतले पक्षपात गरेर काँग्रेसका उम्मेदवारलाई २ मतले जिताउन खोजेको आरोप लगाए।उनीहरूका अनुसार एमालेका उम्मेदवार १ मतले विजयी भएको घोषणा गरिनुपर्ने वा उक्त मतदान केन्द्रको मतगणना पुनः गरिनुपर्ने माग राखेका छन्।
उता कांग्रेसले मतगणना निष्पक्ष भएको र आफ्ना उम्मेदवारलाई विजयी घोषणा गर्नुपर्ने अडान राखेको हो। यसै द्विपक्षीय अडानका कारण मतगणनास्थल तनावग्रस्त बनेको हो।एमालेका नेता वडा नम्बर ५ का उम्मेदवार राजनारायणप्रसाद गुप्ता (राजु)ले भने, ‘ठिक छ काँग्रेसले नै जिते पनि विवाद भएको ठाउँबाट पुनः मतगणना गरिनुपर्ने हाम्रो माग छ, हामीलाई चित्त बुझाउनु निर्वाचन आयोगको दायित्व पनि हो। त्यसैले मतगणना एकपटक फेरि हुनुपर्छ।
त्यस्तै कांग्रेसका वडा नं.५ का उम्मेदवार जीवछ मण्डलले भने, ‘हामी कानुनबमोजिम निर्वाचन आयोगले भनेको मान्न तयार छौं। हाम्रो कुनै अडान छैन नियमानुसार आयोगको निर्णयको प्रतीक्षामा छौं।’क्षीरेश्वनाथ नगरपालिकाका निर्वाचन अधिकृत विकास बस्नेतले दुबै समूहबीच छलफलको वातावरण बनाइरहेको बताए। उनले दुबै पक्षलाई छलफलमा राखी सहमतिमा कानुनअनुसार गरिने जानकारी गराए।
मतगणनास्थलको अवस्था तनावग्रस्त छ भने सुरक्षा व्यस्था निकै कडा बनाइएको र व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, १४ : ३७
लेखकबाट थप