श्रीलंकामा एक दिनका लागि मात्र पुग्ने पेट्रोल बाँकी रहेको विक्रमासिंघेको भनाइ

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, १४ : २८
श्रीलंकामा एक दिनका लागि मात्र पुग्ने पेट्रोल बाँकी रहेको विक्रमासिंघेको भनाइ

 स्वतन्त्रता पाएयताकै सबैभन्दा नराम्रो आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा पेट्रोलको हाहाकार हुने अवस्थामा पुगेको छ ।

नयाँ प्रधानमन्त्री रनिल विक्रमासिंघले यस्तो संकेत गरेका हुन् । अमेरिकी टेलिभिजन च्यानल सीनएनएनको अनलाइन संस्करणले जनाएअनुसार उनले श्रीलंकामा एक दिनका लागि मात्र पेट्रोलको सञ्चिति रहेको बताएका छन् ।

एउटा टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री विक्रमासिंघले आधारभूत सामाग्रीको आयातका लागि भुक्तानी गर्न देशलाई तत्काल ७.५ करोड डलर विदेशी मुद्रा आवश्यक भएको उनले बताए । .सरकारले तलब दिन केन्द्रिय बैंकले पैसा छाप्नुपर्ने अवस्था रहेको उनले बताए । 

राज्यको स्वामित्वमा रहेको श्रीलंकाली एयरलाइन्स पनि निजिकरण गरिने उनले जानकारी दिएको सीएनएनले जनाएको छ ।महामारी, बढ्दो मूल्य वृद्धि र कर कटौतीका कारण देशको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको बताइन्छ । 

विदेशी मुद्राको दीर्घकालीन अभाव र बढ्दो मुद्रास्फीतिका कारण औषधि, इन्धन र अन्य अत्यावश्यक वस्तुको चरम अभाव भएको छ । चरम आर्थिक संकटसँग श्रीलंकामा राजनीतिक संकट पनि देखा परेको छ ।

श्रीलंकामा आर्थिक संकटको समाधान गर्न नसकेको भन्दै हिंसात्मक सरकार विरोधी प्रदर्शनहरु हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस