बुद्ध जयन्तीलाई संयुक्त राष्ट्रसंघको बेवास्ता

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १७ : ०७
बुद्ध जयन्तीलाई संयुक्त राष्ट्रसंघको बेवास्ता

काठमाडौं ।  पाँच प्रमुख धर्म मध्ये एक मानिएको बौद्ध धर्मका अनुयायी संसारभर ५० करोड भन्दा बढी रहेका छन् । यस बाहेक, धर्म परिवर्तन नगरी बुद्धको उपदेश पालना गर्नेको संख्या जोड्ने हो भने सबैभन्दा धेरै अनुयायी बौद्ध धर्ममा नै रहेको अनुमान गरिन्छ । 

बौद्ध धर्ममा बुद्ध पूर्णिमा अर्थात् वैशाख शुक्ल पूर्णिमाको ठूलो महत्व छ । सिद्धार्थ गौतमले नेपालको लुम्बिनीमा जन्म लिएको, तपस्वी सिद्धार्थले भारतको गयामा बुद्धत्व प्राप्त गरेको र भारतको कुशी नगरमा भगवान बुद्धको महानिर्वाण भएको तीन वटै अवसर यही दिनमा पर्न गएकोले पनि यस दिनलाई संसारभरीका बौद्ध धर्मावलम्बीहरूले आदरका साथ मान्दै आएका छन् । आज जेठ २ गते यो वर्षको बुद्ध जयन्ती मनाउन कपिलवस्तुको लुम्बिनीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा संयुक्त रुपमा उपस्थित भएका छन् । सांस्कृति र धार्मिक रुपमा यति महत्वपूर्ण दिनलाई संयुक्त राष्ट्र संघले बेवास्ता गरेकाले बौद्ध धर्म सम्बद्ध विद्वानहरूले यस विषयमा आवाज उठाएका छन् । बाह्रखरीसँग कुरा गर्ने क्रममा एक विज्ञले संयुक्त राष्ट्र संघ र अझ युनेस्कोले बुद्ध जयन्तीमा सार्वजनिक बिदा नदिएको सन्दर्भमा सो कुरा उठेको बताएका छन् । 

संयुक्त राष्ट्र संघको नेपालको आवासीय प्रतिनिधिको कार्यालयबाट जारी हुने राष्ट्र संघ सम्बद्ध कार्यालयको आधिकारिक बिदाको सूचीमा बुद्ध जयन्ती पर्दैन । नेपालका लागि आवासीय प्रतिनिधि सरा न्यन्तीले जारी गरेको बिदाको सूचीमा नौ दिन सार्वजनिक बिदाका रुपमा अंकित छन् जसमा बुद्ध जयन्ती पर्दैन् । तर आफूले चाहेको कुनै एक दिन बिदा लिन पाइने सूचीमा भने बुद्ध जयन्ती परेको छ । सार्वजनिक बिदाका आठ दिनमा जनवरी १, वैशाख १, इद–अल–फित्र, इद–अल–अदाह, विजया दशमीको नवमी र दशमी, तिहारको म्ह पुजा र भाईपुजा तथा क्रिसमस परेका छन् । यो सूचीमा बुद्ध जयन्तीलाई पनि राखिनु प¥यो भन्ने सम्बद्धहरूको माग रहेको छ । 

संयुक्त राष्ट्र संघको मुख्यालयबाट आएको पत्र अनुसार अन्य संस्कृति र परम्परालाई समेट्ने उद्देश्य सहित अरु आठ दिन तोकिएको छ, जसमा राष्ट्र संघका कर्मचारीले एक दिन रोजेर बिदा लिन सक्छन् । यसरी रोजेर बिदा लिन पाउने दिनमा अर्थोडक्स क्रिसमस, होली, अर्थोडक्स गुड फ्राइडे, बुद्ध जयन्ती, बिजया दशमीको अष्टमी, योम किप्पुर, तिहारको लक्ष्मी पुजा तथा गुरु पूर्णिमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस