स्थानीय तह निर्वाचन

आजै साँझबाट मतगणना सुरु हुने

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १४ : ४९
आजै साँझबाट मतगणना सुरु हुने

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ । आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदान कार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
 
उनका अनुसार आज दिउँसो १ बजेसम्म ३७ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण र उत्साहपूर्वक मतदान कार्य भइरहेको जनाइएको छ । मुलुकभर ७५३ पालिकामध्ये कपिलवस्तुको एक पालिकाबाहेक सबै पालिकाका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको छ । 

दोलखा, सर्लाही, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकामा सञ्चालन गर्ने प्रयास भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस