काठमाडौं । स्थानीय तह निर्वाचको लागि शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ।
मतदानका लागि निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहका २१ हजार ९ सय ५५ केन्द्रमा चाहिने सम्पूर्ण सामाग्री पुर्याइसकेको छ। निर्वाचन आयोगले शुक्रबार मतदान सकिएलगत्तै जतिसक्यो छिटो मतगणना कार्यको थालनी गर्ने जनाएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार मतदान स्थलबाट निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आइपुगेको एक घण्टाभित्र गणना सुरु गर्न निर्देशन दिइएको जानकारी दिए।
उनले भने, ‘मतदानस्थलबाट मतगणना गर्ने ठाउँमा मतपेटिका आएको एक घण्टाभित्र गणना सुरु गर्न आयोगले निर्देशन दिएको छ। त्यसैअनुसार काम हुन्छ। मतपेटिका आएपछि पनि केही प्राविधिक र कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।’उनका अनुसार देशभरका करिब ८० प्रतिशत स्थानीय तहमा शुक्रबार रातिदेखि नै मतगणना थालिनेछ। मतगणना निर्देशिका २०७९ अनुसार निर्वाचन अधिकृतको कार्यालय वा गणनाका लागि तोकिएको स्थानमा सबै मतदान स्थलबाट मतपेटिका आएपछि मात्रै गणना सुरु गर्नुपर्नेछ।
एउटा पालिकाको सबै वडा वा मतदान केन्द्रको मतपेटिका नआएको अवस्थामा गणना गर्न सकिँदैन। कुनै मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने भएमा त्यहाँसमेत मतदान भएर मतपेटिका नआएसम्म अरू केन्द्रको गणना गर्नु नमिल्ने आयोगले जनाएको छ।
यसपटक मतगणना स्थलमा सिसिटिभी र तार तालिएको व्यवस्था गरिएको छ।मतदान भएको एक हप्ताभित्रै सबै पालिकाको नजिता सार्वजनिक गर्ने योजना आयोगले बनाएको छ।
कसरी हुन्छ मतगणना ?
मतगणनाका लागि निर्वाचन अधिकृतले मतदानको अघिल्लो दिन नै गणना हुने स्थल र समय तोकेर सूचना प्रकाशित गर्नुपर्नेछ।
गणनास्थलमा मतपेटिका जम्मा भएपछि उम्मेदवार वा दलका प्रतिनिधिलाई राखेर मुचुल्का तयार गर्नुपर्नेछ। बहुसंख्यक उम्मेदवारको प्रतिनिधि उपस्थित नभएमा गणना कार्य सुरु गर्न मिल्दैन।
मतगणना सुरु भएको मुचुल्का गरिसकेपछि निर्वाचन अधिकृतले उपस्थित उम्मेदवार वा निजको प्रतिनिधिको रोहबरमा मतपत्र रहेको मतपेटिकाको मतगणना गर्न लागिएको मतपेटिका खोलिएको वा फोरिएको छ, छैन देखाउनुपर्छ।
त्यस्तै, मतपेटिकामा मतदान केन्द्रको नाम, सुरक्षणशील नम्बर र मतपेटिकाको क्रम उल्लेख गरिएको छ, छैन त्यो पनि यकिन साथ देखाउनुपर्छ।
निर्वाचन अधिकृतले प्रतिनिधिको रोहबरमा मतपेटिका जाँच गरिसकेपछि मतपेटिका जाँच गरेको मुचुल्का तयार गर्नुपर्नेछ। मुचुल्का गर्दा मतगणनाको काममा खटाएको कर्मचारी, उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई हस्ताक्षर गराइनेछ।
मतपेटिकाको जाँच गर्दा कुनै कैफियत देखिएमा मुचुल्कामा सोही व्यहोरा खुलाई त्यस्तोमतपेटिका सुरक्षित स्थानमा राख्नु पर्ने र कैफियत नदेखिएको मतपेटिकाको मतगणना कार्य समाप्त भएपछि कैफियत देखिएका मतपेटिकाको सम्बन्धमा आवश्यक सहमति कायम गरी मतगणना गर्ने दायित्व निर्वाचन अधिकृतको हुनेछ।
गाउँपालिका वा नगरपालिकाको निर्वाचनको मतगणना गर्दा प्रत्येक वडाको मतगणना छुट्टाछुट्टै गर्नुपर्नेछ। तर, एउटै वडामा एकभन्दा बढी मतदान केन्द्र कायम भएर मतदान भएको अवस्थामा वडाको कम्तीमा दुईवटा मतदान केन्द्रको मतपेटिका एकै ठाउँमा मिसाई मात्रै गणना गर्नुपर्नेछ।
मतगणना सुरु गरेपछि नसकेसम्म विशेष परिस्थितिमा बाहेक स्थगित नगर्न आयोगले निर्देशन दिएको छ। यदि स्थगित नै गर्नु परेमा औपचारिक रूपमा सूचना निकाल्नुपर्ने र त्यसको जानकारी दिनुपर्नेछ।
गणना गरिसकेपछि आएको परिणामलाई निर्वाचन अधिकृतले तोकिएको ढाँचामा माथिल्लो निकायमा पठाउने र सार्वजनिक गर्नुपर्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, १३ : १८
लेखकबाट थप