भरतपुरमा ल्याइयो ४ लाख ३४ हजार मतपत्र

सफल खबर संवाददाता

शनिबार, २४ बैशाख २०७९, १५ : ५६
भरतपुरमा ल्याइयो ४ लाख ३४ हजार मतपत्र

चितवन । चितवनका ७ पालिकामा हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा चार लाख ३४ हजार मतपत्र आइपुगेको छ । शुक्रबार साँझ भरतपुर महानगरपालिकासहित सात वटै पालिकाको लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुरले जानकारी दिएको छ ।

भरतपुरको लागि ४१० बण्डल र बाँकी छ पालिकाको लागि ४५८ बण्डल मतपत्र आएको हो । एउटा बण्डलमा ५०० वटा मतपत्र हुन्छन । चितवनको मतदाताको संख्या तीन लाख ९७ हजार ६८५ रहेकोमा सो भन्दा ३६ हजार ३१५ बढी मतपत्र ल्याइएको छ ।आयोगको नीति अनुसार नै मतदाताको संख्या भन्दा केही बढी मतपत्र पठाएको चितवनका मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले बताए ।

प्याकिङ भएर आएको मतपत्रको बण्डलभित्र प्रिन्ट बिग्रिएका र च्यातिएका मतपत्र पनि पर्ने भएकाले आयोगले करिब १० प्रतिशत बढी मतपत्र पठाउने गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।भरतपुर महानगरपालिकाको लागि दुई लाख पाँच हजार मतपत्र आएको छ । भरतपुरमा एक लाख ८५ हजार ७५२ मतदाता छन् । महानगरमा ६५ वटा मतदानस्थल र २०२ मतदान केन्द्र तोकिएको छ । महानगरबाहेक छ पालिकाको लागि दुई लाख २९ हजार मतपत्र आइपुगेको छ ।

रत्ननगर नगरपालिकामा मतदाताको संख्या बढेर ५२ हजार ६ सय ४२ पुगेको छ । यस नगरमा २१ वटा मतदानस्थल र ६० वटा मतदान केन्द्र तोकिएका छन् । राप्ती नगरपालिकामा यसपटक मतदाताको संख्या ४० हजार ६ सय ४९ पुगेको छ । यहाँ १८ वटा मतदानस्थल र ४७ वटा केन्द्र तोकिएको छ ।

कालिका नगरपालिकामा मतदाताको संख्या ३१ हजार १ सय ५७ छ । यस नगरमा ११ वटा मतदानस्थल र ३७ मतदान केन्द्र तोकिएका छन् ।

खैरहनी नगरपालिकामा ४३ हजार ५ सय ३१ रहेका छन् । पुरुष मतदाता २० हजार ७ सय ३२ छन् भने महिला मतदाता संख्या २२ हजार ७ सय ९९ पुगेको छ । खैरहनी नगरपालिकामा १७ मतदानस्थल र ५१ मतदान केन्द्र तोकिएका छन् ।

माडीमा २८ हजार २ सय ३० पुगेको छ । माडीमा १५ मतदानस्थल र ३२ केन्द्र तोकिएको छ ।इच्छाकामना गाउँपालिकामा मतदाता संख्या १५ हजार ६ सय ३४ छ । यहाँ १४ वटा मतदानस्थल र २२ वटा केन्द्र तोकिएका छन् ।

भरतपुरको लागि बनाइएको मतपत्रमा दल र स्वतन्त्रका गरी ३६ प्रकारका चुनाव चिह्न छन् । तर उमेदवार भने ३५ प्रकारका चुनाव चिह्न पाएका मात्रै छन् ।सबै मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । २७ वैशाखमा सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतहरुलाई मतपत्र दिएर पठाइने मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए । मतपत्रको ढुवानी नेपाली सेनाले गर्छ ।

मतपत्रको सुरक्षाको व्यवस्था प्रमुख जिल्ला अधिकारीले गर्ने छन् । मतदान केन्द्रमा मतपत्र पुगिसकेपछि प्रहरीको सइ वा असइको कमाण्डमा मतपत्रको सुरक्षा गरिन्छ ।

प्रतिक्रिया दिनुहोस