नबिल बैंक र अमेरिकाको कृषि विभागबीच सम्झौता

सफल खबर संवाददाता

शुक्रबार, २३ बैशाख २०७९, ११ : ३७
नबिल बैंक र अमेरिकाको कृषि विभागबीच सम्झौता

काठमाडौँ । नबिल बैंकले अमेरिकाको कृषि विभाग (यूएसडीए) द्वारा सञ्चालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरणका लागि यूएसडीएसँग सम्झौता गरेको छ । नबिल बैंक यूएसडीए कार्यालयबाट गरिएको उच्चस्तरीय मूल्याकंनपछि यस कार्यक्रमअन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र बैंक हो ।

यो व्यवस्थासँगै नबिल बैंकले यूएसडीएबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्नेछ । यूएसडीए कार्यक्रमअन्तर्गत सामानहरू आयात गर्न बैंकले आफ्ना ग्राहकहरूको तर्फबाट जारी गरेको प्रतीत पत्रमा तेस्रो बैंकहरूबाट प्रमाणीकरण गरिरहनुपर्ने छैन । यस व्यवस्थाअन्तर्गत अमेरिकी निर्यातकर्ताहरूले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतीतपत्र मार्फत सोझै अमेरिकी बैंकहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।

यूएसडीएको निर्यात ऋण ग्यारेन्टी कार्यक्रमअन्तर्गत नेपाल र नबिल बैंक सूचीकृत हुनु नेपाल र नबिल बैंकको अन्तर्राष्ट्रिय पहुँच र मान्यतालाई विश्वव्यापीरुपमा स्थापित गर्ने प्रयासमा अर्को कोसेढुंगा भएको बैंकले जनाएको छ । 

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १४८ शाखा, १८७ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको बैंकको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस