मतपत्र आज साँझसम्म सबै जिल्लामा पुग्ने

सफल खबर संवाददाता

शुक्रबार, २३ बैशाख २०७९, १० : ३९
मतपत्र आज साँझसम्म सबै जिल्लामा पुग्ने

काठमाडौं  स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र शुक्रबार सबै जिल्लामा पुग्ने भएको छ।

निर्वाचन आयोगले मधेसबाहेकका जिल्लाको मतपत्र ढुवानी सकिएको जानकारी दिएको छ। प्रवक्ता शालिग्राम शर्मा पौडेलले मधेसका जिल्लामा शुक्रबार साँझसम्म मतपत्र पुग्नेगरी ढुवानीको व्यवस्था मिलाएको जानकारी दिए।

आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत तथा अन्य कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक फेरबदल नगर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ।

यस्तै, आयोगले मतदान कार्यको लागि खटिएका सम्पूर्ण कर्मचारीलाई आफू खटिएका ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आदेश दिएको छ। काममा खटिन नमान्ने कर्मचारीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न समेत निर्देशन दिएको छ।

यस्तै, आयोगले हाल सम्म निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३७ व्यक्ति तथा राजनीतिक दलहरूलाई स्पष्टीकरण मागेको र प्राप्त जवाफमाथि आयोगले अध्ययन गरिरहेको प्रवक्ता पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस