कांग्रेस कमजोर भएर होइन, संविधान रक्षाका लागि गठबन्धन गरिएको हो : काँग्रेस महामन्त्री शर्मा

सफल खबर संवाददाता

शुक्रबार, २३ बैशाख २०७९, ०९ : १८
कांग्रेस कमजोर भएर होइन, संविधान रक्षाका लागि गठबन्धन गरिएको हो : काँग्रेस महामन्त्री शर्मा

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा पाँच दलबीच भएको तालमेलको इमान्दारीपूर्वक पालना गर्न आग्रह गरेका छन् । कांग्रेस कमजोर भएर होइन, संविधान रक्षाका लागि गठबन्धन गरिएको उनले स्पष्ट पारे।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहीबार कांग्रेस र नेकपा माओवादी केन्द्रको नगरस्तरीय संयुक्त आमसभामा महामन्त्री शर्माले तालमेल गरेका उम्मेदवारलाई जिताउन आग्रह गरे। तालमेल भनेको विविधतामा एकता रहेको उल्लेख गर्दै उनले जीवन विविधताकै कारणले चल्ने उल्लेख गरे।

‘जीवन विविधताकै कारणले चल्छ, चिन्दै नचिनेकोसँग बिहे भएर जीवन बित्छ। यहाँ त सँगै सहकार्य गर्ने साथीलाई मतदान गर्ने कुरा छ, ढुक्कले गर्नुहोस्’, महामन्त्री शर्माले भने।अहिलेको समयमा कांग्रेस र एमाले दुवैको घोषणापत्र पढेर विवेक पुर्‍याएर मतदान गर्न उनले मतदातासामु आग्रह गरे। तिलोत्तमामा गठबन्धनका उम्मेदवारले जारी गरेको प्रतिबद्धतापत्रको समेत महामन्त्रीले प्रशंसा गरे। तिलोत्तमामा चक्रपथ निर्माण गर्ने योजना उत्कृष्ट रहेको उल्लेख गर्दै उनले तिलोत्तमाको प्रशासनिक भवनलाई अस्पतालमा रूपान्तरण गर्ने योजनाको तारिफयोग्य भएको बताए।

‘जनताको स्वास्थ्यभन्दा ठूलो जनप्रतिनिधि बस्ने भवन हुँदैन्’,उनले भने। माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले संविधान बचाउनका लागि गठबन्धन गरिएको बताए।कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले अझै पनि नेपाली समाजमा महिलालाई माथि उठ्न नदिइएको उल्लेख गर्दै यसको अन्त्यका लागि कांग्रेसलाई तीनवटै तहमा विजयी गराउन आग्रह गरिन्। नेता चन्द्र भण्डारीले एमाले सरकारले सपना बाँड्नेबाहेक अन्य केही काम नगरेको आरोप लगाए।

कोरोना महामारीमा जनताले सिटामोल, अक्सिजन र भेन्टिलेटर खोजेको बेला एमाले सरकार भ्रष्टाचारमा लिप्त भएको उनको भनाइ थियो प्रदेशसभा सदस्य रमा अर्यालले महिलाका समस्या समाधान गर्न नेतृत्वमा महिला आउनुपर्ने बता‍इन्। कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार एवं कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउन उम्मेदवार बनेको धारणा राखे।

प्रतिक्रिया दिनुहोस