भरतपुरमा दलहरूका चुनावी सभा

सफल खबर संवाददाता

बुधबार, २१ बैशाख २०७९, १६ : ४२
भरतपुरमा दलहरूका चुनावी सभा

भरतपुर राजनीतिक दलहरुले भरतपुरमा चुनावी प्रचारका लागि आमसभा गर्ने भएका छन्। सत्ता गठबन्धनले बिहीबार सभा गर्दै छ भने विपक्षी गठबन्धनले वैशाख २५ गते सभा गर्दैछ।सत्ता गठबन्धनबाट भरतपुर महानगरपालिकामा प्रमुख पदमा माओवादी केन्द्रकी रेनु दाहाल र विपक्षी गठबन्धनबाट नेकपा एमालेका विजय सुवेदी उम्मेदवार छन्।

निर्वाचन आफ्नो पक्षमा पार्न सत्तापक्षीय गठबन्धन र विपक्षीय गठबन्धन दुवै लागि परेका छन्। यसै सन्दर्भमा सत्तापक्षीय गठबन्धनले भरतपुरमा शीर्ष नेताको उपस्थितिमा जनसभा गर्न लागेको हो।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार सत्ता गठबन्धनको जनसभामा पार्टीका सभापति शेरबहादुर देउवाको समेत उपस्थिति हुँदैछ। सो सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, महामन्त्री गगनकुमार थापासँगै जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताको उपस्थिति हुनेछ।

जनसभाका लागि कांग्रेस पार्टी सभापति देउवासहितको टोली आजै चितवन आउने कार्यक्रम तय भएको छ। जिल्ला सभापति खनालले भने, “प्रधानमन्त्री र मन्त्रीहरुको हैसियतबाट नभएर पार्टीको सभापति र नेताको हैसियतले उहाँहरु यहाँ आउन लाग्नुभएको हो।”

नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र राप्रपाका वरिष्ठ उपाध्यक्ष  विक्रम पाण्डेसहितका नेताको उपस्थितिमा चुनावी सभा हुँदै छ। भरतपुरको केन्द्रीय बस टर्मिनलमा दुवै गठबन्धनले सभा गर्दै छन्।

स्थानीय तह निर्वाचन २०७४ मा भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४२  हजार ९२४ मत प्राप्त गरेका थिए भने गठबन्धनका तर्फबाट प्रमुखकी उम्मेदवार रेनु दाहालले ४३ हजार १२७ मत प्राप्त गरेकी थिइन्।

राप्रपाका तर्फबाट बद्रीनाथ तिमील्सीनाले ६ हजार ८४२ मत प्राप्त गरका थिए। गठबन्धनबाट उपप्रमुखको उम्मेदवार बन्नुभएकी पार्वती शाह ठकुरीले ४७ हजार १९७ मत प्राप्त गरेकी थिइन्।एमालेका तर्फबाट उम्मेदवार बनेकी दिव्य शर्माले ३९ हजार ५२५ मत ल्याएकी थिइन् भने राप्रपाबाट उम्मेदवार बनेकी रिना गुरुङले सात हजार २५२ मत प्राप्त गरेकी थिइन्।

एकिकृत समाजवादी सत्ता गठबन्धनतर्फ छ भने राप्रपा नेकपा एमालेसँग मिलेको छ।  चितवनमा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तीन लाख १३ हजार ३ मतदाता थिए। यसपालिको स्थानीय तहको चुनावमा ७४ हजार ६७२ मतदाता थपिएका छन्।

विसं २०७४ को स्थानीय तहको चुनावलाई आधार बनाउँदा थपिएकामध्ये आधाभन्दा बढी भरतपुर महानगरमा थपिएका हुन्। भरतपुर महानगरपालिकामा ३५ हजार ४७८ मतदाता थपिएर एक लाख ८५ हजार ७५२ मतदाता पुगेका छन्।

प्रतिक्रिया दिनुहोस