कांग्रेस घोषणापत्रमाथि ओलीको टिप्पणी लाज छोप्न रचिएको ‘निन्जा टेक्निक’ : प्रदीप पौडेल

सफल खबर संवाददाता

बुधबार, १४ बैशाख २०७९, १५ : ०३
कांग्रेस घोषणापत्रमाथि ओलीको टिप्पणी लाज छोप्न रचिएको ‘निन्जा टेक्निक’ : प्रदीप पौडेल

काठमाडौं ।नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो लाज छोप्न कांग्रेसको घोषणापत्रमाथि मनगढन्ते टिप्पणी गरेको आरोप लगाएका छन्। ओलीले जनता झुक्याउन ‘निन्जा टेक्निक’ अपनाएको आरोपसमेत पौडेलले लगाएका छन्।

‘कांग्रेस घोषणापत्रको बारेमा ओलीको मनगढन्ते टिप्पणी जनता झुक्याउन र लाज छोप्न रचिएको निन्जा टेक्निक हो’, सामाजिक सञ्जाल फेसबुकमा पौडेलले लेखेका छन्, ‘राजनीतिक मर्यादा र निर्वाचनको संवेदनशीलताको सामान्य हेक्का नराखी खर्चिएका सस्ता शब्द कुण्ठाका पराकाष्टा हुन्। आफ्नो सरकारले विगतमा गरेका काण्डहरुलाई जति बचाउँ गर्छन् उति नाङ्गिदै जान्छन्।

एमाले अध्यक्ष ओलीले मंगलवार कांग्रेसको घोषणापत्र राजनीतिक दस्तावेज नभइ पागलहरुको प्रलाप भएको आरोप लगाएका थिए। त्यसैगरी, ओलीले कांग्रेसको संकल्पपत्रमा एमालेलाई धारे हातमात्र लगाएको आरोप लगाएका थिए।अरुलाई गाली गरेर रक्षात्मक बन्न खोज्नु दरिद्रता भएको पौडेलको तर्क छ।

‘५ वर्ष सरकार सञ्चालन गर्न जनताले दिएको मत र मेण्डेटलाई तिरस्कार गरेर संविधान मास्ने सम्मको कुकर्म छोप्न अरूलाई गालीगलौच गरेर रक्षात्मक बन्न खोज्नु दरिद्रता हो’, उनले थप भनेका छन्, ‘मत लिनका लागि घोषणापत्रमा निराधार र सतही सपना छर्ने, जनमतको कदर गर्न नसक्ने र वाचा गरिएका न्यूनतम कुरा पनि पूरा गर्न नसकेपछि अरूलाई आक्रोश पोख्ने कुरा लज्जाको विषय हो। यस्तो दरिद्रता देखाएर मत माग्ने जो कोहीलाई जनताले स्वतः अस्वीकार गर्नेछन्।’

 

प्रतिक्रिया दिनुहोस