काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आफ्नो ६७औँ वार्षिकोत्सव मनाउँदैछ । वार्षिकोत्सवका अवसरमा राष्ट्र बैंकले नेपालको अर्थतन्त्रमा कोभिडका कारण परेको असर र अहिलेको खस्किँदो अर्थतन्त्रका बारेमा पनि छलफल गर्ने भएको छ ।
खस्किँदो अर्थतन्त्रका कारण नेपालको उत्पादन, आयात, रोजगारी, मूल्य तथा अर्थतन्त्रका सबै सूचकहरुमा नकारात्मक असर परिरहेको र यसलाई सकारात्मक ढंगबाट अघि बढाउने विषयमा पनि छलफल हुने राष्ट्र बैंकले जनाएको छ । वार्षिकोत्सव कार्यक्रममा भने अर्थमन्त्रीलाई बोलाइएको छैन ।वार्षिकोत्सवका अवसरमा शुभकामना दिंदै गभर्नर अधिकारीले मुलुकको आर्थिक स्थायित्व, दिगो विकास, सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको विकासका लागि समर्पित रहने प्रतिबद्धता जनाएका छन् ।
शोधनान्तर स्थिरता कामय गर्नको लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच अभिबृद्धि गर्दै वित्तीय क्षेत्रको स्थायित्व कायम गरी बैंकिङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिबृद्धि गर्ने गभर्नर अधिकारीले उल्लेख गरेका छन् ।
‘मुलुकले परिलक्षित गरेको आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौँ’–आज प्रकाशित शुभकामना सन्देशमा उल्लेख छ । पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच सम्बन्ध कोलाहलपूर्ण छ । अर्थमन्त्री शर्माको प्रस्तावमा सरकारले केही दिनअघि गभर्नर अधिकारीलाई गोप्य सूचना चुहाएको आरोपमा निलम्वन गरेका थियो ।
निलम्वनपछि आफूलाई हटाउने उद्देश्यले सरकारले निलम्बन गरेको भन्दै जाँचबुझ आयोग खोरेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेका अधिकारीलाई अदालतले निलम्वन नगरी काममा फर्किने गरी अल्पकालीन आदेश दिएको थियो । सर्वोच्च अदालतमा रहेको गभर्नर अधिकारीमाथिको मुद्दामा मंगलबार दुवै पक्षको वहस नसकिएकोले हेर्दाहेर्दैमा राखिएको र विहीबार पुनः सुनुवाइ हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ बैशाख २०७९, १३ : १६
लेखकबाट थप