आविष्कार केन्द्रलाई बेलायतबाट बीस लाख भन्दा बढी सहयोग

सफल खबर संवाददाता

आइतबार, २७ चैत्र २०७८, ०७ : २९
आविष्कार केन्द्रलाई बेलायतबाट बीस लाख भन्दा बढी सहयोग

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रको लागि बेलायतबाट एकैदिन  बीस लाख भन्दा बढी सहयोग जुटेको छ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवंम् समाजसेवी महावीर पुन बेलायत हुँदै युरोप भ्रमणका क्रममा हाल बेलायतमा छन् । उनी यतिबेला बेलायतका  विभिन्न विश्वविद्यालय, कम्पनी तथा विशेषज्ञहरुसंग भेटघाट गर्ने र अनुसन्धान एवम विकासमा सहयोग सम्बन्धि सहकार्य तथा परियोजनासम्बन्धि छलफलमा व्यस्त छन् ।

बेलायतस्थित विभिन्न समुदायसंग अन्तरसंवादमा व्यस्त पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई बेलायतबाट १३ हजार पाउण्ड (२० लाख ५४ हजार रुपैयां) सहयोग प्राप्त भइसकेको  छ भने सहयोग जुट्ने क्रम जारी छ । बेलायतस्थित युनिभर्सिटी अफ सेन्ट्रल ल्यांकासायर (यूक्लान) मा पुनसंग आयोजित अन्तरक्रियामा १० हजार पाउण्ड सहयोग भएको हो । बिज एजुकेशनले आयोजना गरेको उक्त अन्तरक्रियामा यूक्लानका दक्षिण एसिया निर्देशक गोविन्दसिंह विष्टले १० हजार पाउण्ड प्रदान गरेका हुन् । सोही दिन सांझ बिज एजुकेशन र नेपाली समाज प्रिस्टनले महारानी रेष्टुरेन्ट प्रिस्टनमा गरेको अन्तरक्रियामा तीन हजार पाउण्ड संकलन भयो । 

कार्यक्रममा नेपाली समाज प्रिस्टनले ६ सय एक पाउण्ड र बिज एजुकेशनका निर्देशक हरि कार्कीले २ हजार ३ सय ९९ पाउण्ड प्रदान गरेका थिए । यसअघि यूक्लानमा भएको अन्तरक्रियामा विश्वविद्यालयका उपकुलपति प्राध्यापक ग्राहाम बाल्डवीनले पुनलाई विशेष सम्मान गर्दै आफ्नो विश्वविद्यालयमा पुनलाई स्वागत गर्न पाउंदा हर्षित र गौरवान्वित भएको बताए । 

प्राध्यापक ग्राहामले आफ्नो विश्वविद्यालयले पनि अन्वेषण, अनुसन्धान र इन्जिनियरिङमा विज्ञता हांसिल गरेको जनाउंदै आविष्कार केन्द्रसंग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । आविष्कार केन्द्रका युरोप संयोजक हरिकृष्ण न्यौपानेले केन्द्रको प्रोजेक्टबारे थप प्रष्टयाउंदै आयोजक बिज एजुकेशनका निर्देशक हरि कार्की, यूक्लान नेपाली सोसाइटी, नेपाली समाज प्रिस्टोनप्रति आभार व्यक्त गरे । 

उनले महावीर पुनको युरोप भ्रमण विश्वविद्यालय र विज्ञहरुसंग सहकार्य गर्नका लागि भएको जनाउंदै प्रवासको नेपाली समुदायलाई सहयोग गर्न पनि आग्रह गरे । हाल बेलायतमा रहेका पुन अप्रिल २८ देखि युरोप भ्रमणमा जानेछन् । युरोप भ्रमणपछि  मे २५ मा बेलायत फर्किएर जुन पहिलोसाता उनको  नेपाल फर्किने योजना रहेको संयोजक न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस