'कानुनभन्दा माथि कोही छैन'

पत्रपत्रिकाबाट

शुक्रबार, २५ चैत्र २०७८, ०७ : ५१
'कानुनभन्दा माथि कोही छैन'

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले देशका उच्च पदमा रहेका कोही पनि कानुनभन्दा माथि जान नहुने बताएका छन्। राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायत सबैले कानुन मान्नुपर्नेमा जोड दिँदै ‘ठूलालाई चयन सानालाई ऐन’ भने जस्तो हुनु राम्रो नभएको भन्दै उनले उच्च पदमा रहेकाले यसमा ध्यान दिनुपर्ने बताए।

चौतारा साँगाचोकगढी नगरपालिका–६ मा नवनिर्मित भ्यूटावरसहितको बुद्धपार्कको हिजो उद्घाटन गर्नहुँदै उनले सबैभन्दा माथि कानुन अनि मात्र पद रहेको बताए। उनले सङ्घीयता कार्यान्यनमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताए।

उनले भ्रष्टाचार भनेको पैसाको लेनदेन मात्र नभई पदको दुरुपयोग पनि भएकाले अब युवा जागेर भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिए। सभामुख सापकोटाले हिजो ६७ फिट अग्लो बुद्धको प्रतिमाको अनावरण गरे। नगरपालिकाले गौरवको आयोजनाका रुपमा थालनी गरेको बुद्धपार्क दारेगौरा भिरमा अवस्थित छ। उनले भ्यूटावरसहितको बुद्धपार्कले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बताए।

सङ्घीय सांसद एवं नेकपा ९एमाले०का स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बुद्धपार्कको निर्माणले चौतारा साँगाचोकगढी नगरपालिकालाई थप पर्यटकीय पहिचान दिएको बताए।

समुद्री सतहबाट करिब एक हजार ७०० मिटरको उचाइमा रहेको बुद्धपार्कबाट उत्तरको जुगल हिमशृङ्खला, गौरीशङ्कर हिमालको अवलोकन गर्न सकिन्छ भने पूर्वी क्षेत्रका मुडेलगायत अधिकांश भूभाग अवलोकन गर्न सकिन्छ। त्यस्तै दक्षिणतर्फका धुलिखेल र नगरकोटलगायतको भूभागको दृश्य अवलोकन गर्न सकिन्छ। नागरिक दैनिकमा खबर छ ।