अब मधेशमा निर्णायक आन्दोलन हुन्छ : महन्थ ठाकुर

सफल खबर संवाददाता

आइतबार, २० चैत्र २०७८, १२ : ३०
अब मधेशमा निर्णायक आन्दोलन हुन्छ : महन्थ ठाकुर

वीरगन्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेशमा अब निर्णायक आन्दोलन हुने बताएका छन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले वीरगन्जमा निकालेको ‘स्वभिमान यात्रा’ -याली पश्चात आयोजित स्वाभिमान सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेशीमाथि शासकहरुले अहिलेपनि गरि रहेको विभेदलाई अन्त्य गर्न अब मधेशमा निर्णायक आन्दोलन हुने बताए ।

उनले मधेशीहरुको हक अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गर्दै आएको मधेशीहरुमाथि शासकहरुले बदलाको भावनाले मुद्दा चलाएको आरोप लगाउँदै मधेसीमाथि शासकले अहिले पनि सामाजिक, कानुनी र आर्थिक विभेद् गरिरहेका कारण मधेस आन्दोलन र विद्रोह अहिले पनि जारी रहेको बताए । मधेसको मुद्दा सम्बोधन नभएसम्म मधेस विद्रोह र आन्दोलन निरन्तर चलिरहने भन्दै अध्यक्ष ठाकुरले मधेस २२ जिल्लाको भए पनि शासकले मधेसलाई आठ जिल्लामा सीमित पारेर मधेसमै मधेसीलाई अल्पमत पार्न खोजेको बताए ।

यसैगरि सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता राजेन्द्र महतोले मधेशीहरुको बाँकी अधिकारको लागि निर्णायक आन्दोलन हुने बताए । उनले मधेसको अधिकार र मागका लागि मधेसी अहिलेपनि संघर्षरत रहेको भन्दै मधेसले आंशिक रुपमा मात्रै आफ्नो अधिकार पाएकोले बाँकी अधिकार प्राप्तिका लागि छिट्टै अर्को मधेस आन्दोलन सुरु हुनेछ र त्यो नै निर्णायक आन्दोलन हुने बताए ।

प्रतिक्रिया दिनुहोस