निगम र व्यवसायीबीच ४ बुँदे सहमति

सफल खबर संवाददाता

आइतबार, २० चैत्र २०७८, ०६ : १७
निगम र व्यवसायीबीच ४ बुँदे सहमति

काठमाडौं । सरकार र पेट्रोलियम व्यवसायीबीच ४ बुँदे सहमति जुटेसँगै पेट्रोलियम पदार्थको ढुवानी र विक्रीवितरणको समस्या समाधान भएको छ । व्यवसायीले कमिसन र भाडा बढाउनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । 

शनिबार यही समस्या समाधानका लागि नेपाल आयल निगमको पहलमा भएको दुई पक्षीय वार्तामा ४ बुँदे सहमति भएसँगै आजैदेखि व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन् । 

आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपीग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रमहरू आजैको मितिदेखि स्थगन गरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको ढुवानी तथा बिक्री वितरणको कार्यलाई यथावत् रूपमा सञ्चालन गर्ने सहमति भएको बताए । 

४ बुँदे सहमतिमा निगमको तर्फबाट उपाध्याय र व्यवसायीको तर्फबाट राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका प्रवक्ता विश्वप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् । 

 निगमको केन्द्रीय कार्यालय, टेकुमा राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले गत फागुन २३ मा निगम समक्ष पेस गरेको मागहरूका सम्बन्धमा गम्भीर छलफल भएको उपाध्यायको भनाइ छ । 

वार्तापछि जारी विज्ञप्तिमा पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र एलपी ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्ने भनिएको छ । यस्तै अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस