आजदेखि ‘हिमालयन हाइड्रो एक्सपो’ सुरू, बिजुलीको बजार खोज्ने लक्ष्य

सफल खबर संवाददाता

शनिबार, १९ चैत्र २०७८, १५ : ३३
आजदेखि ‘हिमालयन हाइड्रो एक्सपो’ सुरू, बिजुलीको बजार खोज्ने लक्ष्य

काठमाडौ ।  आजदेखि तेस्रो संस्करणको ‘हिमालयन हाइड्रो एक्सपो’ सुरू भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को आयोजनामा सुरू भएको एक्सपो उत्पादिन बिजुली आन्तरिक खपतको बजार र निर्यात सम्भावनाको खोजी गर्ने लक्ष्यसहित आयोजना गरिएको हो ।

तीन दिन (१९ चैतदेखि २१ चैत) सम्म चल्ने एक्सपोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । उनले कार्यक्रमको उद्घाटन गर्दै नेपालको जलविद्युत क्षेत्रमा निजी क्षेत्रले ठूलो उपलब्धि हासिल गरेको बताइन् । उनले बिजुली उत्पादनमा उत्साहजनकरूपले निजी क्षेत्र लागि परेको र यसबाट समग्र मुलुकले लाभ लिएको उनको भनाइ छ ।‘बिजुलीको उत्पादन, सञ्चालन र खपत वृद्धि गरेर समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक पार्नुपर्छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपालले एक शताब्दी अघि नै  उत्पादन गरेर जलविद्युत क्षेत्रको सम्भावना खोलेको थियो ।’ नेपालको राष्ट्रिय ऊर्जा आवश्यक्ता पुरा गर्ने गरी जलविद्युतमा लगानी अभ्यास हुन थालेको समेत आधा सताब्दी भइसकेको उनको भनाइ छ । यद्यपि, ठूलो लगानीका बाबजुत सबै स्थानमा बसोबास गर्ने नागरिकले बिजुली बाल्न नपाएको र उद्योगहरूले मागेजति बिजुली नपाइरहनु दुखको विषय रहेको भण्डारीको भनाइ छ ।

यसैगरी, उद्घाटन सत्रमा बोल्दै इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बिजुलीको आन्तरिक बजार खोज्ने र निर्यात सम्भावना बारे छलफल गर्न यो एक्सपो आयोजना गरेको बताए । उनले भने, ‘जलविद्युत क्षेत्रको विकास गर्ने र ऊर्जा उत्पादनमा वर्षैभरी आत्मनिर्भर बन्ने लक्ष्यसहित यो एक्सपो सुरू भएको हो ।’ यससँगै नेपाल सरकारको १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्न समेत एक्सपोले सहयोग गर्ने अपेक्षा लिइएको छ ।

‘एक्सोपोको आयोजनाबाट जलविद्युतको क्षेत्रमा लगानी गर्ने निजी क्षेत्रलाई प्रोत्साहन पुग्छ,’ अध्यक्ष आचार्यले भने, ‘यसबाट सरकारलाई समेत जलविद्युत क्षेत्रको समस्या समाधान गर्न दबाब पुग्छ ।’ हाल सरकारले विगत तीन वर्षदेखि ‘रन अफ दि रिभर’ (नदी प्रवाहमा आधारित)आयोजनाको बिजुली खरिद सम्झौता (पीपीए) रोकेर राखेको छ । यो तत्काल खोल्नुपर्ने समेत एक्सपोमा बताइएको थियो ।

एक्सपोमा छानामूनी जलविद्युत उत्पादक, निर्माण सामाग्री ढुवानीकर्ता र वितरकहरूको उपस्थिति छ । यसबाट, उत्पादित बिजुली खपत गर्ने बजार खोज्न सहयोगी भूमिका मिल्ने अपेक्षा लिइएको छ । एक्सपोको उद्घाटन सत्रअघि फर्पिङसम्म विद्युतीय सवारी र्याली सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस