फ्राइडे रिलिज : हलमा 'मोर्बियस' र 'हेल्लो जिन्दगी', दबदबा 'आरआरआर'कै

सफल खबर संवाददाता

शुक्रबार, १८ चैत्र २०७८, १३ : ५५
फ्राइडे रिलिज : हलमा 'मोर्बियस' र 'हेल्लो जिन्दगी', दबदबा 'आरआरआर'कै

काठमाडौं ।  शुक्रबारदेखि दुईवटा नयाँ फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म 'हेल्लो जिन्दगी' र हलिउड फिल्म 'मोर्बियस'ले एकसाथ प्रदर्शन थालेका हुन्। 

एभरेस्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्म 'हेल्लो जिन्दगी'मा बिक्रम डि जोशी, प्रियंका कार्की, दिपिका प्रसाइँ, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। सत्य घटनामा आधारित भनिएको फिल्ममा रोजगारको शिलशिलामा विदेश गएको नेपाली युवाको संघर्ष देखाइएको छ। 

एक्सन ड्रामा जनरामा बनेको फिल्मलाई हिरल जोशी र विक्रम डि जोशीले संयुक्त रुपमा निर्माण गरेका हुन्। फिल्मले अधिकांश हलमा एउटा शो मात्र पाएको छ भने क्युएफएक्स चेनमा दुई वटा शो पाएको छ। 'हेल्लो जिन्दगी'ले कम शो पाउनुको एउटा मुख्य कारण गत हप्तादेखि प्रदर्शनमा आएको 'आरआरआर' पनि हो। 

त्यस्तै 'आरआरआर'कै कारण शुक्रबारदेखि प्रदर्शनमा आएको हलिउड फिल्म 'मोर्बियस'ले पनि कम शो पाएको छ। मार्वल कमिक्समा आधारित फिल्मलाई डेनियल इस्पानोसाले निर्देशन गरेका हुन्। फिल्ममा जारेड लेटो, म्याट स्मिथ, अड्रिया अर्जोना लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

यतिवेला दर्शकको चाप भने 'आरआरआर' मै रहेको छ। शुक्रबारदेखि दोस्रो हप्तामा प्रवेश गरेको फिल्मले अझै पनि ७० देखि सत प्रतिशत शो सहित प्रदर्शन भइरहेको छ। शुक्रबार र शनिबारका अधिकांश शो तिब्र रुपमा बुकिङ भइरहेका छन्। त्यस्तै अर्को बलिउड फिल्म 'द कश्मिर फाइल्स' शुक्रबारदेखि चौँथो हप्तामा प्रवेश गरेको छ। धेरै हलबाट फिल्म उत्रिसके पनि क्युएफएक्सले भने 'कश्मिर फाइल्स'लाई दुई शो दिएको छ।  

प्रतिक्रिया दिनुहोस