काठमाडौं । नेपालको एकमात्र रेल्वे शनिबारदेखि सञ्चालनमा आउने भएको छ। जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेल्वेको दुई देशका प्रधानमन्त्रीले शनिबार संयुक्त रुपमा उद्घाटन गर्ने भएका हुन्।
उद्घाटनको लागि जनकपुरधामस्थित रेल्वे स्टेशनमा मञ्च निर्माण अन्तिम चरणमा पुगेको छ भने जयनगरमा रेल्वेलाई सजाउने काम भइरहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले शनिबार दुई देशका प्रधानमन्त्रीले भर्चुअल रुपमा स्विच थिचेर रेल्वे शुभारम्भ गर्ने बताइन्। उनले रेल्वे सञ्चालनका लागि आवश्यक सबै तयारी चलिरहेको जानकारी दिइन्।
भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३४।९ किलोमिटरसम्म चल्ने रेल्वे साढे १२ बजे जयनगरबाट गुड्ने महाप्रबन्धक झाले बताए। उनका अनुसार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रुपमा रेल्वे उद्घाटन गर्नेछन्।रेल्वे उद्घाटनपश्चात प्रत्येक स्टेशनमा नागरिक अभिनन्दनका लागि रेल रोकिने उनले बताए। ‘अभिनन्दनका लागि हरेक स्टेशनमा छात्रछात्रा नेपाल र भारतको झण्डासहित रेल्वेमा आउँछन्’, उनले भने, ‘रेल कुर्था पुगेर फर्केपछि जनकपुरधाममा कार्यक्रम हुनेछ।’
उद्घाटन भएपछि आइतबारदेखि दैनिक आउने र जाने गरी रेल दुई पटक चल्ने महाप्रबन्धक झाले जानकारी दिए। बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ। दुई घण्टामा कुर्था स्टेशन पुग्ने रेल जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरतर्फ चल्नेछ। सो रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने महाप्रबन्धक झाले बताए।जयनगर गएको रेल पुनः ३ बजे फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको उनले बताए। यसरी नै रेल्वे दैनिक रुपमा दुईपटक नियमित रुपमा सञ्चालनमा आउने महाप्रवन्धक झाले बताए।
नेपाल सरकारले खरिद गरेको दुईसेट रेलले फागुन १ गतेदेखि ‘ड्राई रन’ गर्दै आएको छ। सुरुमा दिनहुँ एक पटक चलाए पनि चैतदेखि दिन बिराएर यात्रुविना सञ्चालन हुँदै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ चैत्र २०७८, ११ : २४
लेखकबाट थप