प्रधानमन्त्री आज भारत जाँदै, यस्ता छन् प्राथमिकता

पत्रपत्रिकाबाट

शुक्रबार, १८ चैत्र २०७८, ०७ : २२
प्रधानमन्त्री आज भारत जाँदै, यस्ता छन् प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत भ्रमणमा जाँदैछन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली जान लागेका देउवाको भ्रमणका क्रममा लामो समयदेखि संवादहीन अवस्थामा रहेको सीमा विवाद, व्यापार तथा लगानी, ऊर्जा, कनेक्टिभिटी, दुई पक्षीय संयन्त्रहरूको सञ्चालन तथा बिटुबी र पिटुपी सम्बन्धजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ।

नेपालको प्राथमिकतामा परेका विषय भारतको प्राथमिकतामा पर्छन् वा पर्दैनन् भन्ने निश्चित नभएकाले नेपालको एजेन्डा के हुन्छ भन्ने सार्वजनिक गरिएको छैन। ‘हाम्रो प्राथमिकतामा धेरै कुरा छन्। हाम्रो प्राथमिकता र एजेन्डामा परेका विषयमा भारत छलफल गर्न सहमत हुन्छ भन्ने छैन। त्यसैले अहिले नै यही विषयमा छलफल हुने भन्ने अवस्था छैन,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने।

प्रधानमन्त्री देउवाको भ्रमणमा इपिजी रिपोर्ट, पञ्चेश्वर परियोजना तथा रक्सौल–वीरगन्ज–काठमाडौं रेल लाइन विस्तारलगायतका कतिपय महत्वपूर्ण विषयमा छलफल हुनसक्ने जनाइएको छ। प्रधानमन्त्रीको भ्रमणले लामो समयदेखिको दुई देशबीचको संवादहीनता तोडिने र सम्बन्ध सुधारको वातावरण बन्ने कूटनीतिक मामिलाका जानकारहरू बताउँछन्।

भ्रमणको पहिलो दिन प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेट्ने कार्यक्रम छ। भारतीय विदेश मन्त्रालयले जारी गरेको भ्रमण तालिकाअनुसार जयशंकरले शुक्रबार साँझ साढे चार बजे प्रधानमन्त्री देउवासँग भेट गर्ने कार्यक्रम छ। भ्रमणको दोस्रो दिन बिहान देउवाले समकक्षी मोदीसँग हैदारावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेट गर्ने कार्यक्रम रहेको छ। देउवा र मोदीबीच बिहान ११ः१० मा प्रतिनिधिमण्डलस्तरीय कुराकानीपश्चात् १२ः१५ बजे विभिन्न सहमति तथा सम्झौता आदानप्रदान गर्ने कार्यक्रम छ। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस