स्थानीय चुनावमा ‘ठेकेदार’ उम्मेदवार बन्न नपाउने प्रावधान विरुद्ध निर्माण व्यवसायी अदालत जाने

सफल खबर संवाददाता

विहीबार, १७ चैत्र २०७८, १५ : २४
स्थानीय चुनावमा ‘ठेकेदार’ उम्मेदवार बन्न नपाउने प्रावधान विरुद्ध निर्माण व्यवसायी अदालत जाने

काठमाडौँ  । नेपाल निर्माण व्यवसायी महासंघले चुनावमा निर्माण  व्यवसायी सहभागी हुन नपाउने व्यवस्थाको बिरोध गरेको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा निर्माण व्यवसायी उम्मेदवार बन्न नपाउने गरी बनाएको प्रावधान विरुद्ध अदालत जाने तयारी गरेको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।उनले आयोगले गरेको निर्णय संविधानले दिएको मौलिक हक विरुद्ध रहेको भन्दै त्यसका लागि कानुनी उपचार खोज्ने बताए । उनले भने–‘आयोगले गरेको निर्णय संविधानले दिएको मौलिक हक विरुद्धमा छ ।

यसबारे हामीले कानुन व्यवसायीसँग छलफल गरिरहेका छौँ । महासंघको तर्फबाट अदालत जाने कि ब्यक्तिको तर्फबाट जाने भन्ने बारेमा छलफल भइरहेको छ । यसबारेमा हामी छिट्टै विज्ञप्ति पनि जारी गर्दैछौँ ।’

बुधबार बसेको आयोगको बैठकले ठेक्कापट्टामा सहभागीहरू स्थानीय तहको चुनावमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको थियो । एक अध्ययन अनुसार २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट स्थानीय प्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायत गरेर ठेक्कापट्टामा सहभागी १६९ जनप्रतिनिधि निर्वाचित भएका थिए । 

प्रतिक्रिया दिनुहोस