काठमाडाैँ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरिएको बताए।
ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा बीमा कम्पनीहरूका सञ्चालक समितिका अध्यक्षहरूसँग समसामयिक विषयमा बिहीबार भएको छलफल कार्यक्रममा अध्यक्ष सिलवालले धेरै लामो गृहकार्य गरेर बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरिएको स्पष्ट पारे।
‘बीमा कम्पनीहरूको पूँजी कम छ, कम्पनीहरूको मुनाफा घट्दैछ, प्रशासनिक लागत बढ्दैछ, बीमाको दायरा बढ्दै गएको छ, कम्पनीहरूको दक्षता बढ्न सकेको छैन’, अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीलाई बलियो बनाउने कार्यको यो सुरूवात हो, पूँजी वृद्धिको योजना धेरै अगाडि देखिको हो, पूँजी पुर्याउन नसके मर्जरमा जानुपर्छ, कम्पनीको महत्वपूर्ण आधार भनैकै पूँजी हो, यो सबैको हितमा आएको छ र यसमा केही अप्ठ्यारो परे त्यो फुकाउन समिति तयार छ।’
अध्यक्ष सिलवालले समितिले नयाँ जीवन तथा निर्जीवन कम्पनीहरू दर्ता नगर्ने जानकारी दिँदै तोकिएको अवधिभित्र चुक्ता पूँजी वृद्धिको योजना ल्याउन र तोकिएको पूँजी पुर्याउन नसके मर्जरमा जान बीमा कम्पनीहरूलाई आग्रह गरे।बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूले प्रस्तुत गर्ने चुक्ता पूँजी वृद्धिको योजनामाथि छलफल गरेर देखिएका अप्ठ्यारा फुकाउन समिति तत्पर रहेको जानकारी दिए।
कार्यक्रममा बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्षहरूले बीमा समितिले गरेको चुक्ता पूँजी वृद्धिको निर्णय पालना गर्न आफूहरू तयार रहेको बताउँदै पूँजी वृद्धिमा समस्या परे त्यसको समाधान गर्न अभिभावकका रूपमा बीमा समिति तयार हुनुपर्ने बताए।
कार्यक्रममा बीमा समितिका निर्देशकहरू सुशीलदेव सुवेदी, पूजन ढुङ्गेल अधिकारी र दिनेशकुमार लाल सहभागी थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ चैत्र २०७८, १४ : १९
लेखकबाट थप