मणिपाल अस्पतालमा ३ महिनादेखि तालाबन्दी

सफल खबर संवाददाता

विहीबार, १७ चैत्र २०७८, १३ : १७
मणिपाल अस्पतालमा ३ महिनादेखि तालाबन्दी

काठमाडौँ   पोखराको मणिपाल शिक्षण अस्पतालका कर्मचारीले ३ महिनादेखि तालाबन्दी गर्दा प्रशासनिक कामदेखि स्वास्थ्य सेवा प्रदानमा समेत सास्ती भएको छ।

श्रम ऐन र पुराना सहमतिअनुसारको सेवा–सुविधा माग गर्दै अस्पतालका कर्मचारीले गत पुस २० मा प्रशासन भवनमा तालाबन्दी गरेका थिए। लामो समय माग सुनुवाइ नभएको भन्दै दुईवटा डीनको कार्यकक्षमा पनि ताला लगाए। अझै कर्मचारीको माग सुनुवाइ भएको छैन।

कर्मचारीको आन्दोलनले प्रशासनदेखि उपचारमा समेत समस्या सुरु भएको छ। उपचार कक्षमा तालाबन्दी नगरे पनि कर्मचारी व्यवस्थापन र सामग्री खरिदमा समस्या भएको अस्पतालले जनाएको छ। अस्पताल प्रशासनले २०७४ सालमा कर्मचारी युनियनसँग गरेको ७ बुँदे सम्झौताअनुसारका सेवा–सुविधा दिनुपर्ने कर्मचारीहरूको माग छ।

कर्मचारी अमृत पौडेलले आफ्ना मागहरु नयाँ नभएको र सहमति कार्यान्वयनलाई मात्र अघि सारिएको बताए। ‘यी कुनै पनि माग नयाँ होइनन्। अस्पताल प्रशासन र कर्मचारी युनियनबीच भएको सहमति कार्यान्वयनको माग हो’, उनले भने, ‘धेरै पटक घच्घच्यायौं। अस्पतालले सुन्दै सुनेन। बाध्य भएर तालाबन्दी गर्नुपरेको हो।’

कर्मचारीलाई सुत्केरी बिदा, चार्डपर्व र किरिया बिदा दिनुपर्ने उनीहरूको माग छ। मणिपालमा सधैँजसो कर्मचारी र व्यवस्थापन पक्षको मनमुटाव बाहिरिन्छ। कहिले तलब वृद्धिको मागमा आन्दोलन हुन्छ भने कहिले सहमति कार्यान्वयनको दबाबका लागि।

मणिपाल २०५९ सालमा खुलेको हो। आफ्ना मागबारे कर्मचारी युनियनले श्रम तथा रोजगार कार्यालय पोखरामा निवेदन दिएका थिए। श्रम कार्यालयले उपदानलगायतका सुविधा तत्कालै लागू गर्न निर्देशनात्मक पत्र दियो। तर, अस्पतालले त्यसलाई थन्क्याएर राखेको कर्मचारीको आरोप छ।

‘नेपालको ऐनअनुसार खुलेको कम्पनीले नेपालकै श्रम ऐन मान्दैन। सरकारी निकायले दिएका निर्देशन पनि टेर्दैन’, युनियनका अध्यक्ष जीवनबहादुर थापा भन्छन्, ‘ऐन–नियम मान्दिनँ भन्ने अस्पतालमाथl सरकार किन चुप छ?’

यसबाहेकका माग पनि कर्मचारीले अघि सारेका छन्। यसअघि गरिएको कोरोना बीमाको रकम पाउनुपर्ने, चाडपर्वमा खटाएका कर्मचारीलाई छुट्टै तलब सुविधा दिइनुपर्नेलगायत माग राखेका छन्। केही कर्मचारी कोभिड संक्रमणमा परेको र उनीहरूको बीमा गरिएको भए पनि अस्पतालले आफैले बीमा रकम लुकाएको उनीहरूको आरोप छ। माग सुनुवाइ नभए केही दिनमै उपचार कक्षमा समेत तालाबन्दी गर्ने उनीहरूले चेतावनी दिए। 

प्रतिक्रिया दिनुहोस