दमक सपिङ्ग कम्प्लेक्समा नगर विकास कोषको ४२ करोड ऋण

सफल खबर संवाददाता

बुधबार, १६ चैत्र २०७८, १५ : ००
दमक सपिङ्ग कम्प्लेक्समा नगर विकास कोषको ४२ करोड ऋण

काठमाडौं । नगर विकास कोषको सहरी पूर्वाधार विकास आयोजनाअन्तर्गत हालसम्मकै ठूलो आयोजना ६१ करोड रुपैयाँ अनुमानित लागतको दमक सपिङ्ग कम्प्लेक्समा कोषको ४२ करोड रुपैयाँ ऋण प्रवाहका लागि ऋण सम्झौता सम्पन्न भएको छ।

कोषको नगरपालिकाहरुमा सहरी पूर्वाधारका आयोजनामा बढीभन्दा बढी वित्तीय तथा प्राविधिक सहायता प्रदान गरी व्यवस्थित र सुविधा सम्पन्न सहरको निर्माण तथा विकासमा योगदान गर्ने उद्देश्यअनुरुप दमक नगरपालिकाको नगरवासीलाई व्यवस्थित, सुरक्षित तथा आधुनिक प्रविधियुक्त सेवा सुविधा उपलब्ध गराउने लक्ष्यअनुसार दमक नगरपालिकाबाट निर्माण हुन लागेको हो।

दमक सपिङ्ग कम्प्लेक्स आयोजना निर्माणका लागि दमक नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता सम्पन्न भएको छ। सहरी पूर्वाधार निर्माणमा कोषको हालसम्मकै ठूलो लागतको आयोजनाको लागि नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीबीच ४२ करोड ८० लाख रुपैयाँ रकमको ऋण सम्झौतामा हस्ताक्षर भएको छ।

दमक सपिङ्ग कम्प्लेक्स आयोजना निर्माणको कुल अनुमानित लागत रकम ६१ करोड १४ लाखमध्ये ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने बताइएको छ। सम्झौता कार्यक्रममा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाको पनि उपस्थिति रहेको थियो। दमक नगरपालिकाको करिब आठ कठ्ठा १३ धुर क्षेत्रफलमा निर्माण हुने यो आयोजनालाई नगरपालिकाको महत्वपूर्ण आयोजनाको रुपमा लिइएको छ।

सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुखबाट यो आयोजना प्राविधिक दृष्टिकोणबाट बृहत अध्ययनपश्चात निर्माण हुन गइरहेकाले आयोजना गुणस्तरीय रुपमा आधुनिक प्रविधियुक्त आयोजनाको रुपमा सम्पन्न हुनेमा विश्वस्त रहेको जनाउँदै आयोजना समयमै सम्पन्न हुने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले नगरपालिकाको लागि महत्वपूर्ण आयोजनाको लागि नगर विकास कोषको ऋणस्वरुप स्रोतको सुनिश्चितता भएकोमा खुशी व्यक्त गरे।

कार्यक्रममा कोषका कार्यकारी निर्देशकले आधुनिक सेवा सुविधा, सुरक्षा तथा प्रविधिको हरेक पक्षलाई समेटर तयार भएको यो आयोजना नगरपालिकाको आइकनिक आयोजनाको रुपमा स्थापित हुने र यसले स्थानीय जनताको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

कार्यकारी निर्देशक सापकोटाले आधुनिक सहरी सेवा सुविधा विस्तारका लागि आयोजनालाई अगाडि बढाउन नगरपालिकाको वर्तमान नेतृत्वको महत्वपूर्ण भूमिका रहेको बताउँदै नगरपालिकाको सहरी पूर्वाधार विकासमा लगानी बढाउन पाएकोमा खुसी व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस