काठमाडौँ । त्रिकोणात्मक टि-२० आई सिरिजको दोस्रो खेलमा मलेसियाले नेपाललाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनाएको हो ।
ओपनर भिरन्दीप सिंहलाई नेपालका करण केसीले पहिलो ओभरको पहिलो बलमै गोल्डेन डकआउट गरेपछि मलेसिया केही धर्मराएको थियो । त्यसपछि दोस्रो विकेटका लागि जुबैदी र कप्तान अहमद फैजले ४९ रनको साझेदारी गरेपछि मलेसिया सन्तुलनमा आयो । तर, खेलको मध्यतिर भने मलेसियाका खेलाडी क्रिजमा टिक्न सकेनन् ।
मलेसियाका लागि जुल्किफ्लेले सर्वाधक ३२ रन जोडे । त्यस्तै, कप्तान फैजले २४ रन, मुहम्मद अमिरले १६ रन तथा सियद अजिजले १४ रन बनाए ।बलिङतर्फ नेपालका तीव्र गतिका बलर करण केसी र कप्तान सन्दीप लामिछानेले समान २/२ विकेट लिए भने अविनाश बोहरा, कुशल मल्ल र दिपेन्द्रसिंह ऐरीको नाममा एकएक विकेट रह्यो ।
शृंखलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई हराएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ चैत्र २०७८, १४ : ३०
लेखकबाट थप