चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : के विषय पर्‍यो प्राथमिकतामा ?

सफल खबर संवाददाता

आइतबार, १३ चैत्र २०७८, १८ : १०
चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : के विषय पर्‍यो प्राथमिकतामा ?

काठमाडों । तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी आफ्नो तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्केका छन्। यसपटक वाङले नेपालको मात्र भ्रमण गरेका होइनन्। उनले एक साथ दक्षिण एसियाका भारत, पाकिस्तान, अफगानिस्तान र नेपाल भ्रमण गरेका हुन्। यस कारण पनि उनको भ्रमणमा नेपाल मात्र प्राथमिकतामा थियो भन्न मिल्दैन। तर छिमिकी मुलुकबाट उच्चस्तरीय भ्रमण हुनु आँफैमा महत्वपूर्ण भने रहन्छ नै।

नेपालमा रहँदा यो तीन दिनमा उनले महत्वपूर्ण राजनीतिक भेटघाटसहित ९ वटा समझदारीपत्रमा हस्ताक्षर गरे। तर चासोका साथ हेरिएको बीआरआईबारे भने उनको भ्रमणको प्राथमिकतामा परेन। परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भएको भेटमा दुई समकक्षीबीच आपसि हितका चासोबारे छलफल भयो। प्रधानमन्त्री शेरबहादुर देउवासँगको उनको भेटमा पनि औपचारिकतामात्र रह्यो।

नेपाली पक्षले चिनियाँ नाकाहरुलाई दोहोरोरुपमा पूर्ण खुला गर्न जोड दिए। कोरोनाका कारण नेपालमा रोकिएका विद्यार्थीहरुलाई फर्काउन नेपाली पक्षले चासो दिएको थियो। चीनमा अध्ययनरत विद्यार्थी कोरोना महामारीका कारण दुई वर्षदेखि चीन फर्किन पाएका छैनन्। वाङले उनीहरुलाई प्राथमिकताका आधारमा फर्किन सहजिकरण गर्ने नेपाली पक्षलाई बताएका थिए। 

उनले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसम्मलाई भेटे। 

ओली र प्रचण्डसँगको भेटमा भने बीआरआई परियोजनाबारे समेत छलफल गरेका भएका छन्। होटल मेरियटमा दुई नेताहरुलाई वाङले छुट्टछुट्टै भेटेका थिए। सुरुमा ओलीलाई भेटेपछि प्रचण्डसँग वाङको भेट भएको थियो। 

एमाले अध्यक्ष ओलीले बेल्ट एन्ड रोड अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेका थिए। एमाले नेता राजन भट्टराईका अनुसार भेटवार्ताका क्रममा ओलीले कोरोनाका कारण प्रभावित भएका चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थीलाई सहज रूपमा फर्कने वातावरण बनाइदिन आग्रह गरेका थिए। जवाफमा वाङले बिआरआईलगायतका परियोजनासँग जोडिएका विषयलाई अगाडि बढाउन र त्यसलाई नियमित गर्न चीन सरकारका तर्फबाट सहयोग रहने बताएका थिए। 

माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा पनि बीआरआईको विषय उठान भएको थियो। प्रचण्डले पनि बीआरआई अन्तर्गतका परियोजनालाई सीघ्र कार्यान्वयनमा ल्याउन आग्रह गरेका थिए। विआरआई परियोजना अन्तर्गतका आयोजनालाई समयमै कार्यान्वनमा ल्याउँदा सकारात्मक प्रभाव पर्ने उनको भनाई थियो। माओवादी नेता शक्ति बस्नेतका अनुसार नियमित हुन नसकेको तातोपानी र रसुवागढी नाकालाई सहज रूपमा सञ्चालन हुने वातावरण बनाइदिनसमेत प्रचण्डले आग्रह गरेका थिइ। दुई वर्षदेखि ती नाकाबाट सहजरुपमा समान आउन सकेका छैनन्।

नेपालमा रेलले अत्याधिक चर्चा पाउने गर्छ। यसपटक पनि वाङको भ्रमणका क्रममा रेलबारे के होला भन्ने आंसिक चासो थियो। केरुङ हुँदै काठमाडौं ल्याउने भनेको रेलबारे वाङको भ्रमणको क्रममा सम्भाव्यता अध्ययनको समझदारी बनेको छ। सीमापार रेल्वे परियोजनाका लागि चिनियाँ सहयोगमा सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायताको स्किमसम्बन्धी सम्झौता हुनु भ्रमणको महत्वपूर्ण पक्ष हो। यस्तै अर्को महत्पूर्ण सम्झौता नेपाल–चीन (गल्छी–रसुवागढी) पावर ग्रिड इन्टरकनेक्सनको सम्भाव्यता अध्ययन सम्बन्धी हो।

यस्तै नेपालबाट चीन निर्यात हुने ९८ प्रतिशत बस्तुमा भन्सार छुट हुने अर्को समझदारी पत्रमा हस्ताक्षर भएको छ। यदी नेपालले यो समझदारीलाई उपयोग गर्न सक्ने हो भने यो आँफैमा महत्वपूर्ण छ। नेपाली व्यवसायीहरुले उत्पादन गरेका सामान चीन पठाउन सकेको खण्डमा यसले व्यापार घाटा कम गर्न सहयोग पुर्याउने छ। तर यसको उपयोगिता हाम्रो उत्पादनमा भर पर्नेछ। 
 

प्रतिक्रिया दिनुहोस