नेपाल आउनुअघि चिनियाँ विदेशमन्त्रीको भारतमा उच्चस्तीरय भेटवार्ता

एजेन्सी

शुक्रबार, ११ चैत्र २०७८, १३ : १३
नेपाल आउनुअघि चिनियाँ विदेशमन्त्रीको भारतमा उच्चस्तीरय भेटवार्ता

काठमाडौं । नेपाल आउनुअघि भारत भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले उच्चस्तरीय भेटवार्ता गरेका छन् । उनले भारतीय समकक्षी एस जयशंकरसँग प्रतिनिधि मण्डल सहितका शीर्ष अधिकारीसँग हैदरावाद हाउसमा भेटवार्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसअघि उनले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभलसँग दोभलकै कार्यालय साउद ब्लकमा भेटवार्ता गरेका थिए । दुवै जनासँगको भेटवार्ताका क्रममा विदेशमन्त्री यीले दुई पक्षीय हित, आपसी सहयोग तथा सहकार्य र साझा चासोका बारेमा कुराकानी गरेका थिए ।भेटवार्ताका क्रममा भारत र चीनबीचको सम्बन्धलाई अझ मजबुत, सुमधुर बनाउँदै सहकार्यका क्षेत्र तथा दायरा बढाउने बारेमा पनि छलफल भएको जनाइएको छ ।

दक्षिण एसियाली देशको भ्रमण गर्ने क्रममा उनी बिहीबार बेलुका भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन् । यही वर्ष चीनको राजधानी बेइजिङमा हुन लागेको उदीयमान अर्थतन्त्र भएका मुलुकहरुको समूह ब्रिक्सको सम्मेलनका लागि निमन्त्रणा दिन चिनियाँ विदेशमन्त्री भारत आएको बताइएको छ ।

भारत आउनु अघि उनी पाकिस्तानको राजधानी इस्लामावादमा भएको इस्लामिक सहयोग संगठनको बैठकमा सहभागी भएका थिए । इस्लामावादपछि उनी एकाएक अफगानिस्तानको राजधानी काबुल पुगेका थिए ।उनी शुक्रबार नै काठमाडौं आउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस