रुपन्देहीको देवदहमा प्रस्तर मूर्तिकला कार्याशाला शुरु

सफल खबर संवाददाता

बुधबार, ०९ चैत्र २०७८, ११ : १६
रुपन्देहीको देवदहमा प्रस्तर मूर्तिकला कार्याशाला शुरु

बुटवल–रुपन्देहीको देवदहमा प्रस्तर मूर्तिकला कार्यशाला सुरु भएको छ। देवदह नगरपालिकाको आयोजना एवं ड्रिम देवदह र स्मृति सामुदायिक वनको सहकार्यमा देवदह–७ को स्मृति वनबाटिकामा मंगलबारदेखि १५ दिने मूर्तिकला कार्यशाला सुरु भएको हो।

कार्यशालाको लुम्बिनी प्रदेश सरकारकी कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती मगरले उद्घाटन गरिन्। मन्त्री घर्तीले गौतमबुद्धको मावली स्थल देवदहलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न कार्यशालाले सकारात्मक सन्देश दिने बताइन्।देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले देवदहको पर्यटन विकासका लागि पार्कहरूलाई फरक फरक विशेषता सहित विकास गर्न थालिएको बताए।देवदह–७ का अध्यक्ष पदम थापा लगायतले यसअघि स्मृति वन बाटिकामै काष्ठकला कार्यशाला गरिएको र त्यसले देवदहको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको बताए।

कार्यशालामा नेपालका ख्यातिप्राप्त २५ जना मूर्तिकारहरूले थिम पार्कको अवधारणा अनुरूप कोलिय गणराज्य देवदह, बौद्ध साहित्य र बुद्धसँग सम्बन्धित पात्रहरू, बौद्ध दर्शन, शान्ति, प्रेम, सद्भाव र मानवीय एकता झल्काउने भावका मूर्तिहरू निर्माण गर्ने प्रचारप्रसार संयोजक टंक पोखरेलले जानकारी दिए।कार्यशाला सम्पन्न गर्न करिब ३८ लाख खर्च अनुमान गरिएकोमा देवदह नगरपालिकाबाट १० लाख विनियोजन भएको छ। 

प्रतिक्रिया दिनुहोस