महानगरबासीले दिएका धेरै जिम्मेवारी पूरा गरेको छु : विद्यासुन्दर शाक्य

सफल खबर संवाददाता

शनिबार, ०५ चैत्र २०७८, १५ : ०८
महानगरबासीले दिएका धेरै जिम्मेवारी पूरा गरेको छु : विद्यासुन्दर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दावी गरेका छन् । मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाइदिएको बताए । शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उनले महानगरबासीको सबै चाहना पूरा गर्न नसकेपनि उनीहरुले सुम्पेको धेरैजसो जिम्मेवारी आफूले पूरा गरेको बताएका हुन् ।

मेयर शाक्यले सबै वडा कार्यालयहरुलाई काम गर्न उचित वातावरण बनाएर आफूले अभिभावकीय भूमिका निर्वाह गरेको जिकिर गरे ।सबै वडाहरुलाई प्रशस्त बजेट दिने, काम गर्ने वातावरण बनाउने र त्यसका लागि आवश्यक टिम परिचालन गर्ने काममा आफूले कमी हुन नदिएको उल्लेख गर्दै मेयर शाक्यले सबै काम सम्पन्न नै भइसक्यो भनेर दावी गर्न भने नसक्ने बताए ।

‘सबै पूरा गर्न नसके पनि धेरै जिम्मेवारी पूरा गरेको छु । मैले टिमलाई व्यवस्थित ढंगले परिचालित गरेको छु । सबैलाई उचित जिम्मेवारी दिएर काम गर्ने वातावरण बनाइ दिएका छौं । सबै वडा कार्यालयहरुलाई प्रशस्त बजेट पनि दिने, जिम्मेवारी पनि दिएर काम गराएका छौं’ उनले भने ।उपमेयर हरिप्रभा खड्गीले सहरलाई व्यवस्थित बनाउन ढल व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर सबै वडा कार्यालयहरुको काम गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस