श्रममन्त्री श्रेष्ठ आबुधावीमा, आज नेपाल-युएई संयुक्त समितिको वैठक हुँदै

सफल खबर संवाददाता

मंगलबार, ०१ चैत्र २०७८, ०८ : ०४
श्रममन्त्री श्रेष्ठ आबुधावीमा, आज नेपाल-युएई संयुक्त समितिको वैठक हुँदै

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समिति वैठक आज यूएईको राजधानी आबुधावीमा हुँदैछ । नेपाल-युएई संयुक्त समितिको वैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्नेछन्।

उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको वैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नेछन् । बैठकमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम(सम्झौता कार्यन्वयनबारे समीक्षा हुनेछ भने यसअघि भएको संयुक्त समितिको वैठकका निर्णय कार्यन्वयनको अवस्थाबारे पनि छलफल हुने श्रम मन्त्रालयले जनाएको छ ।

वैठकमा वैदेशिक रोजगारीका लागि युएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र वीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धि लगायतका बिषयमा पनि छलफल हुनेछ ।  साथै पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीहरुको समस्या समाधानबारे पनि वैठकमा छलफल हुनेछ । 

यसैबीच संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच आज भेटवार्ता हुँदैछ । भेटवार्ताको क्रममा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्न आयामबारे छलफल हुनेछ । सो अवसरमा मन्त्री श्रेष्ठले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे आफ्ना समकक्षीसँग छलफल हुनेछ ।